Logo

२०८३, भाद्र १गते


images
images

विचार

शिक्षकलाई निर्देशन होइन, कक्षाकोठामै सहयोग चाहिन्छ

शिक्षकलाई निर्देशन होइन, कक्षाकोठामै सहयोग चाहिन्छ

images
  • शिक्षकलाई निर्देशन होइन, कक्षाकोठामै सहयोग चाहिन्छ
    images
    images

    नेपालमा शिक्षा सुधारको बहस लामो समयदेखि चलिरहेको छ । कहिले पाठ्यक्रम फेरिन्छ, कहिले परीक्षा प्रणालीमा सुधार गरिन्छ, कहिले विद्यालय भवन, कम्प्युटर, स्मार्ट बोर्ड र पूर्वाधारमा लगानी गरिन्छ । यी प्रयास आफ्नै ठाउँमा आवश्यक छन् । तर एउटा कठोर सत्य अझै हाम्रो अगाडि छ, नीति, पूर्वाधार र परीक्षा प्रणालीमा धेरै परिवर्तन हुँदाहुँदै पनि सामुदायिक विद्यालयको कक्षाकोठामा अपेक्षित सिकाइ सुधार अझै पर्याप्त देखिएको छैन ।

    images
    images
    images

    यसको अर्थ, नीति र पूर्वाधार महत्वहीन हुन् भन्ने होइन । तर विद्यालयको वास्तविक परिवर्तन मन्त्रालयको बैठक, पालिकाको सभाहल वा अनुगमनको फाइलमा मात्र हुँदैन । त्यो परिवर्तन कक्षाकोठाभित्र शिक्षक र विद्यार्थीबीच हुने दैनिक अन्तर्क्रियामा हुन्छ । विद्यार्थीले पाठ कसरी बुझ्दैछ, कहाँ अड्किएको छ, कसले डरका कारण प्रश्न सोध्न सकेको छैन, कसलाई अर्को विधि चाहिएको छ, कसलाई थप अभ्यास चाहिएको छ ? यी प्रश्नको उत्तर कक्षाकोठामा भेटिन्छ, फाइलमा होइन ।

    images
    images
    images

    त्यसैले अब स्थानीय तहको शिक्षा सुधारको केन्द्रमा एउटा नयाँ तर अत्यन्त व्यवहारिक सोच आउनुपर्छ शिक्षकलाई निर्देशन मात्र होइन, कक्षाकोठामै निरन्तर सहयोग चाहिन्छ । यही सहयोगको संस्थागत रूप हो मेन्टर शिक्षक प्रणाली ।

    images
    images
    images

    मेन्टर शिक्षक प्रणालीलाई अर्को अनुगमन वा निरीक्षण संयन्त्रका रूपमा बुझ्नु गम्भीर भूल हुनेछ । यसको उद्देश्य शिक्षकको गल्ती खोज्ने, कमजोरीको लिस्ट  बनाउने वा कारबाहीको डर देखाउने होइन । मेन्टर शिक्षक भनेको सहकर्मी शिक्षकको शिक्षण अभ्यासलाई नजिकबाट बुझ्ने, राम्रो पक्षलाई प्रोत्साहन गर्ने, सुधार गर्नुपर्ने पक्षमा सम्मानजनक सुझाव दिने र आवश्यक पर्दा कक्षामै नमुना शिक्षण गरेर देखाउने सहयोगी शिक्षक हो । मेन्टरको भूमिका निरीक्षकको होइन, सहयात्रीको हो ।

    शिक्षकलाई डराएर शिक्षण सुधारिँदैन । शिक्षकलाई विश्वासमा लिएर, उनको पेसागत मर्यादाको सम्मान गरेर र कक्षाकोठाको वास्तविक समस्या बुझेर मात्र अभ्यास बदल्न सकिन्छ । कुनै शिक्षकले सहयोगात्मक सिकाइ विधि प्रयोग गर्न चाहन्छन्, तर समूह कसरी बनाउने भन्नेमा अलमलिन्छन् । कुनै शिक्षकले कमजोर देखिएका विद्यार्थीलाई कसरी सहयोग गर्ने भन्नेमा स्पष्ट हुँदैनन् । कुनै शिक्षकले मूल्याङ्कन गर्न चाहन्छन्, तर दैनिक अभिलेख कसरी सरल बनाउने भन्ने थाहा पाउँदैनन् । यस्ता समस्या निर्देशनले होइन, कक्षाकोठामै हुने पेसागत सहकार्यले समाधान हुन्छ ।

    शिक्षकलाई डराएर शिक्षण सुधारिँदैन । शिक्षकलाई विश्वासमा लिएर, उनको पेसागत मर्यादाको सम्मान गरेर र कक्षाकोठाको वास्तविक समस्या बुझेर मात्र अभ्यास बदल्न सकिन्छ । कुनै शिक्षकले सहयोगात्मक सिकाइ विधि प्रयोग गर्न चाहन्छन्, तर समूह कसरी बनाउने भन्नेमा अलमलिन्छन् । कुनै शिक्षकले कमजोर देखिएका विद्यार्थीलाई कसरी सहयोग गर्ने भन्नेमा स्पष्ट हुँदैनन् । कुनै शिक्षकले मूल्याङ्कन गर्न चाहन्छन्, तर दैनिक अभिलेख कसरी सरल बनाउने भन्ने थाहा पाउँदैनन् । यस्ता समस्या निर्देशनले होइन, कक्षाकोठामै हुने पेसागत सहकार्यले समाधान हुन्छ ।

    नेपालमा यस्तो प्रणाली सुरु गर्ने कानुनी र नीतिगत आधार पनि छ । संविधानले आधारभूत तथा माध्यमिक शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रसँग जोडेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई विद्यालय शिक्षासम्बन्धी नीति, योजना, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमनको जिम्मेवारी दिएको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ ले विद्यालयलाई केन्द्रमा राखेर शिक्षकको निरन्तर पेसागत विकासलाई जोड दिएको छ । विद्यालय शिक्षा क्षेत्र योजना २०७९-२०८८ ले गुणस्तरीय, समावेशी र नतिजामुखी विद्यालय शिक्षा प्रणालीको आवश्यकता स्पष्ट गरेको छ । यी आधारहरूले स्थानीय तहलाई मेन्टर शिक्षक प्रणालीजस्ता कक्षाकोठा-आधारित पेसागत सहायता संयन्त्र विकास गर्न पर्याप्त आधार दिन्छन् ।

    तर कानुनी आधार हुनु मात्र पर्याप्त छैन । स्थानीय तहले यो विषयलाई शिक्षा सुधारको नियमित कार्यक्रमका रूपमा लिनुपर्छ। धेरै पालिकाले विद्यालय अनुगमन गर्छन्, तथ्याङ्क माग्छन्, परीक्षा सञ्चालन गर्छन्, भवन बनाउँछन् र शैक्षिक सामग्री वितरण गर्छन् । अब त्यससँगै कक्षाकोठाको शिक्षण अभ्यासमा पनि लगानी गर्नुपर्छ । शिक्षकले कसरी पढाइरहेका छन् ? विद्यार्थी कति सक्रिय छन् ? सिकाइमा पछि परेका बालबालिकालाई कसरी समेटिएको छ ? उपचारात्मक शिक्षण भइरहेको छ कि छैन? यस्ता प्रश्नलाई स्थानीय तहको शिक्षा योजनाको केन्द्रमा राख्नुपर्छ ।

    मेन्टर शिक्षक छनोट गर्दा सबैभन्दा ठूलो सावधानी चाहिन्छ । केवल जेष्ठताका आधारमा मेन्टर छनोट गरियो भने प्रणाली कमजोर हुन सक्छ । अनुभवी हुनु राम्रो कुरा हो, तर अनुभव मात्र पर्याप्त हुँदैन । मेन्टर शिक्षकमा कक्षा अवलोकन गर्ने क्षमता, रचनात्मक पृष्ठपोषण दिने सीप, सहयोगात्मक सिकाइ विधिको व्यवहारिक अभ्यास, विद्यार्थी-केन्द्रित सोच, सहकर्मीले विश्वास गर्ने स्वभाव र उच्च पेसागत आचरण हुनुपर्छ। मेन्टर आदेश दिने व्यक्ति होइन, शिक्षकलाई अगाडि बढाउने सहयोगी हुनुपर्छ ।

    सामुदायिक विद्यालयका कक्षाकोठा विविध हुन्छन् । एउटै कक्षामा फरक भाषा बोल्ने, फरक आर्थिक पृष्ठभूमि भएका, फरक सिकाइ गति भएका, नियमित नआउने, पहिलो पुस्ताका, लजालु, आत्मविश्वास कम भएका र सिकाइमा पछि परेका विद्यार्थी हुन्छन् । यस्तो कक्षामा एउटै विधिले सबै विद्यार्थीलाई समान रूपमा समेट्न सक्दैन । शिक्षकलाई यस्ता विविध विद्यार्थीलाई बुझ्ने, समूहमा सक्रिय बनाउने, सहपाठी सहयोग गराउने र व्यक्तिगत सिकाइ कठिनाइ पहिचान गर्ने सीप चाहिन्छ। यही काममा मेन्टर शिक्षक उपयोगी हुन्छन् ।

    विशेष ध्यान दिनुपर्ने समूह नवप्रवेशी शिक्षक हुन् । शिक्षक सेवा आयोगबाट खुला प्रतिस्पर्धा पास गरेर आएका युवा शिक्षक योग्य र उत्साही हुन्छन् । तर परीक्षा पास गर्नु र वास्तविक कक्षामा ४५ मिनेट प्रभावकारी शिक्षण गर्नु फरक कुरा हो । प्रवेशकालीन तालिमले उनीहरूलाई नीति, पाठ्यक्रम, मूल्याङ्कन र कक्षा व्यवस्थापनको आधारभूत जानकारी दिन सक्छ । तर कक्षामा चुप लागेर बस्ने विद्यार्थीलाई कसरी बोलाउने, बहुकक्षा अवस्था कसरी सम्हाल्ने, स्थानीय उदाहरण कसरी जोड्ने, घरमा सहयोग नपाउने विद्यार्थीलाई कसरी उठाउने भन्ने कुरा तालिम हलमा मात्र सिकिँदैन। त्यसका लागि कम्तीमा पहिलो एक वर्ष अनुभवी मेन्टर शिक्षकसँग नियमित जोडिनु आवश्यक छ ।

    तर मेन्टर शिक्षक प्रणाली नवप्रवेशी शिक्षकका लागि मात्र होइन । अनुभवी शिक्षकलाई पनि समयअनुसार नयाँ विधि, सहयोगात्मक सिकाइ, निरन्तर विद्यार्थी मूल्याङ्कन र उपचारात्मक शिक्षणमा सहकार्य चाहिन्छ । कहिलेकाहीँ लामो अनुभव भएका शिक्षक पनि पुरानो व्याख्यानमुखी शैलीमै सीमित हुन सक्छन् । मेन्टरिङले पुराना र नयाँ शिक्षकको अनुभव, ऊर्जा र सिकाइलाई जोड्न सक्छ । यो प्रणाली उमेर वा पदको आधारमा होइन, सहकर्मी सिकाइको आधारमा चल्नुपर्छ ।

    प्रोत्साहन आर्थिक मात्र हुनुपर्छ भन्ने छैन । राम्रो मेन्टर शिक्षकलाई पालिकास्तरीय सम्मान, प्रमाणपत्र, क्षमता विकास अवसर, तालिममा प्राथमिकता, उत्कृष्ट अभ्यास सार्वजनिक गर्ने व्यवस्था, पेसागत अभिलेखमा मान्यता वा सम्भव भए विशेष सुविधा दिन सकिन्छ । मेन्टर शिक्षकलाई थप जिम्मेवारी दिइन्छ भने उनको योगदान पनि देखिनुपर्छ । प्रोत्साहनविना कुनै पनि सुधार प्रणाली लामो समय टिक्न कठिन हुन्छ ।

    मेन्टर शिक्षक छनोट गर्दा सबैभन्दा ठूलो सावधानी चाहिन्छ । केवल जेष्ठताका आधारमा मेन्टर छनोट गरियो भने प्रणाली कमजोर हुन सक्छ । अनुभवी हुनु राम्रो कुरा हो, तर अनुभव मात्र पर्याप्त हुँदैन । मेन्टर शिक्षकमा कक्षा अवलोकन गर्ने क्षमता, रचनात्मक पृष्ठपोषण दिने सीप, सहयोगात्मक सिकाइ विधिको व्यवहारिक अभ्यास, विद्यार्थी-केन्द्रित सोच, सहकर्मीले विश्वास गर्ने स्वभाव र उच्च पेसागत आचरण हुनुपर्छ। मेन्टर आदेश दिने व्यक्ति होइन, शिक्षकलाई अगाडि बढाउने सहयोगी हुनुपर्छ ।

    यस प्रणालीको अन्तिम लक्ष्य शिक्षकलाई सहयोग गर्नु मात्र होइन, विद्यार्थीको सिकाइ सुधार गर्नु हो । विशेषगरी सिकाइमा पछि परेका विद्यार्थीलाई समयमै पहिचान गरी सहयोग गर्नु यसको केन्द्र हुनुपर्छ । “कमजोर विद्यार्थी” भन्ने शब्दले धेरै पटक बालबालिकालाई स्थायी रूपमा कमजोर ठान्ने सोच विकास गर्छ । वास्तविकता भने फरक हुन्छ । धेरै बालबालिका कमजोर भएर होइन, समयमै सहयोग नपाएर पछि पर्छन् । कसैले पाठ पढ्न सक्छ तर अर्थ बुझ्दैन । कसैले गणितको प्रक्रिया लेख्न सक्दैन तर सामग्री प्रयोग गर्दा अवधारणा बुझ्छ । कसैले उत्तर जान्दछ तर बोल्न डराउँछ। शिक्षकले यस्ता संकेत समयमै देख्नुपर्छ ।

    मेन्टर शिक्षकले कक्षा अवलोकन गरेर सहकर्मी शिक्षकलाई यही सूक्ष्म पहिचानमा सहयोग गर्न सक्छन् । कक्षा ३ मा विद्यार्थीले भागफल लेख्न नसक्दा शिक्षकले उसलाई नबुझ्ने विद्यार्थी ठान्न सक्छन् । तर यदि त्यही विद्यार्थी १२ वटा सिमीका दाना ३ जना साथीलाई बराबर बाँड्न सक्छ भने समस्या अवधारणामा होइन, लिखित प्रक्रियामा हुन सक्छ । यस्तो अवस्थामा दाना, चित्र, जोडी अभ्यास र पुनः अभ्यास आवश्यक हुन्छ। मेन्टर शिक्षकले यस्तो उपचारात्मक उपाय सुझाउन सक्छन् ।

    सहयोगात्मक सिकाइ शिक्षण विधि मेन्टर प्रणालीको महत्वपूर्ण आधार हो । सहयोगात्मक सिकाइ भनेको विद्यार्थीलाई समूहमा बसाउने काम मात्र होइन। यो साझा लक्ष्य, स्पष्ट भूमिका, पारस्परिक सहयोग र व्यक्तिगत जिम्मेवारीमा आधारित विधि हो। यसमा विद्यार्थीहरू साथीलाई बुझाउँछन्, गल्ती सच्याउँछन्, समूहमा छलफल गर्छन् र आफ्नो सिकाइ प्रस्तुत गर्छन् । यसले शिक्षकको बोझ घटाउँछ र विद्यार्थीको सहभागिता बढाउँछ। तर समूह बनाउँदा सावधानी चाहिन्छ । तेज विद्यार्थीले मात्र काम गर्ने र अरू चुप लागेर बस्ने अवस्था आयो भने सहयोगात्मक सिकाइको उद्देश्य पूरा हुँदैन । मेन्टर शिक्षकले शिक्षकलाई समूह निर्माण, भूमिका बाँडफाँड र सहपाठी  व्यवस्थापनमा सहयोग गर्न सक्छन् ।

    निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली पनि यसैसँग जोडिन्छ । मूल्याङ्कनलाई वर्षको अन्तिम परीक्षा वा कागजी अभिलेखमा मात्र सीमित राख्नु हुँदैन। शिक्षकले हरेक दिन सबै विद्यार्थीको लामो विवरण लेख्नुपर्छ भन्ने पनि होइन । पाठको उद्देश्यअनुसार तीन-चार सरल सूचक पर्याप्त हुन्छन् । आज कसले वाक्य पूरा लेख्यो ? कसले साथीको सुझावपछि सुधार गर्‍यो ? कसले सामग्री प्रयोग गरेर उत्तर निकाल्यो? कसले समूहमा आफ्नो भूमिका पूरा गर्‍यो ? यस्ता छोटा सूचकबाट सिकाइको अवस्था बुझ्न सकिन्छ । त्यसपछि सिकाइमा पछि परेका विद्यार्थीका लागि उपचारात्मक अभ्यास गर्न सकिन्छ ।

    यसलाई सरल सिकाइ चक्रका रूपमा चलाउन सकिन्छ । शिक्षकले सिकाइ लक्ष्य स्पष्ट गर्छन् । विद्यार्थी जोडी वा समूहमा काम गर्छन् । शिक्षकले केही सूचकका आधारमा अवलोकन गर्छन् । मेन्टर शिक्षकसँग आवश्यक छलफल हुन्छ। सिकाइमा पछि परेका विद्यार्थीका लागि उपचारात्मक अभ्यास बनाइन्छ । पुनः अभ्यास गराइन्छ । छोटो पुनर्मूल्याङ्कन हुन्छ। प्रगति समीक्षा गरिन्छ । यही चक्र नियमित भयो भने मूल्याङ्कन कागजी बोझ होइन, सिकाइ सुधारको साधन बन्छ ।

    तर यो प्रणाली टिकाउन शिक्षकको कार्यबोझलाई पनि गम्भीर रूपमा हेर्नुपर्छ । मेन्टर शिक्षक आफैँ पनि नियमित अध्यापन गर्ने शिक्षक हुन् । उनले अरूको कक्षा कहिले हेर्ने ? प्रतिक्रिया कहिले दिने ? नमुना कक्षा कहिले गर्ने ? प्रतिवेदन कहिले तयार गर्ने ? यी सबै काम “खाली समय” मा मात्र छोडियो भने प्रणाली टिक्दैन । पालिकाले मेन्टर शिक्षकका लागि स्पष्ट कार्यतालिका, आंशिक समय व्यवस्थापन, आवश्यक सामग्री, सरल फाराम, प्राविधिक सहयोग र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ ।

    विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भूमिका पनि स्पष्ट हुनुपर्छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले शिक्षकलाई नियन्त्रण गर्ने होइन, सिकाइ सुधारको वातावरण बनाउने काम गर्नुपर्छ । नियमित उपस्थिति, अभिभावक सचेतना, घर-विद्यालय संवाद, सिकाइमा पछि परेका बालबालिकाको घरमै सहयोग, उपचारात्मक कक्षाका लागि वातावरण र समुदायको विश्वास निर्माणमा उनीहरूको भूमिका हुन सक्छ । अभिभावकले “कति अंक आयो ?” मात्र होइन, “मेरो बच्चालाई कहाँ सहयोग चाहिएको छ ?” भनेर सोध्ने संस्कार विकास गर्नुपर्छ ।

    प्रोत्साहन आर्थिक मात्र हुनुपर्छ भन्ने छैन । राम्रो मेन्टर शिक्षकलाई पालिकास्तरीय सम्मान, प्रमाणपत्र, क्षमता विकास अवसर, तालिममा प्राथमिकता, उत्कृष्ट अभ्यास सार्वजनिक गर्ने व्यवस्था, पेसागत अभिलेखमा मान्यता वा सम्भव भए विशेष सुविधा दिन सकिन्छ । मेन्टर शिक्षकलाई थप जिम्मेवारी दिइन्छ भने उनको योगदान पनि देखिनुपर्छ । प्रोत्साहनविना कुनै पनि सुधार प्रणाली लामो समय टिक्न कठिन हुन्छ ।

    विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भूमिका पनि स्पष्ट हुनुपर्छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले शिक्षकलाई नियन्त्रण गर्ने होइन, सिकाइ सुधारको वातावरण बनाउने काम गर्नुपर्छ । नियमित उपस्थिति, अभिभावक सचेतना, घर-विद्यालय संवाद, सिकाइमा पछि परेका बालबालिकाको घरमै सहयोग, उपचारात्मक कक्षाका लागि वातावरण र समुदायको विश्वास निर्माणमा उनीहरूको भूमिका हुन सक्छ । अभिभावकले “कति अंक आयो ?” मात्र होइन, “मेरो बच्चालाई कहाँ सहयोग चाहिएको छ ?” भनेर सोध्ने संस्कार विकास गर्नुपर्छ ।

    मेन्टर प्रणाली सफल भयो कि भएन भन्ने कुरा प्रतिवेदनको संख्याले मात्र देखाउँदैन । यसको प्रभाव कक्षामा देखिनुपर्छ । विद्यार्थीको सहभागिता बढ्यो कि बढेन ? चुप लाग्ने विद्यार्थी बोल्न थाले कि थालेनन् ? सिकाइमा पछि परेका बालबालिकाको प्रगति भयो कि भएन ? शिक्षकले सहयोगात्मक सिकाइ विधि नियमित प्रयोग गरे कि गरेनन् ? उपचारात्मक शिक्षण भयो कि भएन ? निरन्तर मूल्याङ्कनको अभिलेख शिक्षण सुधारमा प्रयोग भयो कि फाइलमा मात्र रह्यो ? यस्ता सूचकले मात्र प्रणालीको वास्तविक प्रभाव देखाउँछन् ।

    साथै, मेन्टरिङलाई दुरुपयोग हुनबाट जोगाउन स्पष्ट सावधानी चाहिन्छ । कक्षा अवलोकन गोप्य मूल्याङ्कनजस्तो हुनु हुँदैन । पृष्ठपोषण सम्मानजनक, प्रमाणमा आधारित र सुधारमुखी हुनुपर्छ । शिक्षकको आत्मसम्मान जोगिनुपर्छ  । मेन्टर र शिक्षकबीच विश्वासको सम्बन्ध बनेन भने प्रणाली चल्दैन। “तपाईंले गल्ती गर्नुभयो” भन्ने भाषाभन्दा “यो अभ्यास राम्रो थियो, अब यसरी अझ सुधार गर्न सकिन्छ” भन्ने भाषा प्रभावकारी हुन्छ । शिक्षा सुधारको भाषा आलोचना होइन, सहयोग हुनुपर्छ ।

    अन्ततः स्थानीय तहमा मेन्टर शिक्षक प्रणाली अर्को फाइल, समिति थप्ने काम होइन । यो शिक्षकलाई कक्षाकोठामै साथ दिने, विद्यार्थीको सिकाइ समयमै बुझ्ने, सहयोगात्मक सिकाइलाई व्यवहारमा उतार्ने, उपचारात्मक शिक्षणलाई नियमित बनाउने र सामुदायिक विद्यालयलाई सिकाइ-केन्द्रित संस्था बनाउने प्रक्रिया हो । यसका लागि कानुनी आधार छ, नीतिगत दिशा छ र व्यवहारिक आवश्यकता पनि छ । अब चाहिएको कुरा हो, स्थानीय तहको स्पष्ट इच्छाशक्ति, विद्यालय नेतृत्वको प्रतिबद्धता, शिक्षकबीच विश्वास, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको सहकार्य र विद्यार्थीको सिकाइलाई केन्द्रमा राख्ने इमानदार प्रयास ।

    शिक्षकलाई निर्देशन दिन सजिलो छ, तर साथ दिन प्रणाली चाहिन्छ । स्थानीय तहले शिक्षकलाई साथ दियो भने शिक्षकले विद्यार्थीलाई साथ दिन सक्छन् । शिक्षकले विद्यार्थीलाई साथ दिए भने सिकाइमा पछि परेका बालबालिका पनि अगाडि आउन सक्छन्। कक्षा बदलिए विद्यालय बदलिन्छ, विद्यालय बदलिए समुदायको भविष्य बदलिन्छ । त्यसैले आजको आवश्यकता स्पष्ट छ, शिक्षकलाई निर्देशन होइन, कक्षाकोठामै सहयोग चाहिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।