काठमाण्डाै । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर विवाद भएको छ ।
प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेस सांसद बचाउमा उत्रिएका छन् । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताएका छन् ।
समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने रावलको भनाइ छ ।
एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग गरिएको तर जवाफ दिन प्रधानमन्त्री अनुपस्थित हुनुले आशङ्का उब्जाएको उहाँको टिप्पणी छ । देउवाले एसपीपीमा संलग्न हुँदैनौँ भनेर अमेरिकालाई पत्र पनि नलेख्ने र समितिमा पनि नआउने कुराले प्रधानमन्त्रीमाथि शङ्का उत्पन्न भएको रावलको भनाइ छ ।
यसैबीच, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गरेकी छन् । उनले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताएकी छन् । भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गरेकी हुन् ।
अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा विवाद उत्पन्न भएपछि जवाफ दिन समितिले आज प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।
समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री बैठकमा नगएर संसदीय समितिलाई अपमान गरेको बताएकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology