देवदह । लायन्स क्लव अफ देवदहको आयोजनामा रुपन्देहीको देवदह-११, रेहरास्थित जनता आधारभूत विद्यालयमा निःशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लियो क्लब अफ देवदहको सहकार्य तथा रणअम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ११६ जना विद्यार्थी र १२३ जना अभिभावक गरी २३९ जनाको आँखा परीक्षण गरिएको हो ।
आँखा परीक्षणका क्रममा २५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको आयोजक क्लवका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए । उनीहरु मध्ये २२ जनालाई बुधवार नै शल्यक्रियाको लागि निशुल्क रुपमा रणअम्बिका शाह आँखा अस्पताल भैरहवा लैजान यातायातको व्यवस्था मिलाइएको क्षेत्रीले बताए ।
पहिचान भएका बिरामीमध्ये तीन जनाको रगतमा सुगरको मात्रा बढी देखिएकाले तत्काल मोतियाबिन्दुको शल्यक्रिया नगरी पहिले मधुमेह सम्बन्धी उपचार गराउन सुझाव दिइएको छ ।
क्लबका सचिव शंकर सुवेदीको सञ्चालन र पूर्वअध्यक्ष तथा डिष्ट्रिक्ट चिफ विनोद थापा मगरको प्रमुख अतिथ्यमा भएको कार्यक्रमको संयोजन क्लवका प्रथम उपाध्यक्ष हिरालाल कँडेलले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology