देवदह । भाद्र १० गते आएको विनाशकारी बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै देवदह-६, रुपन्देहीस्थित त्रिशक्ति आमा समूहले तीजमा गरिने खर्च कटौती गरी बाढीपहिरो प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।
नजिकिदै गरेको तीजमा हुने खर्चमा कटौती गर्दै समूहका अध्यक्ष मीना केसी तथा सचिव पार्वती अधिकारीको नेतृत्वमा समूहले २९ हजार १५ रुपैंया प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो ।
बाढीपहिरोका कारण रसुवा आसपासका जिल्ला तथा देशैभरबाट समेत परिवार तथा आफन्त गुमाएको बेपत्ता भएको र कैंयौको संख्यामा घरबार विहिन भएको भन्दै समूहले अकल्पनिय रुपमा परेको पिडा प्रति दुःख व्यक्त गरेको छ ।
घटनामा परि सुरक्षाकर्मी, कर्मचारी, प्राविधिक, इन्जिनियर तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कामदारसमेत प्रभावित भएको उल्लेख गर्दै समूहले विपद्को यो पीडामा आफूहरू पनि सँगै रहेको जनाएको छ ।
समूहले बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको यथाशीघ्र खोजी तथा उद्धार गर्न र संकलित राहतको उचित तथा प्रभावकारी सदुपयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology