नुवाकोट । भोटेकोशी बाढी प्रभावितलाई राख्न अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) का रूपमा प्रयोग भइरहेका विद्यालयमा आगामी भदौ २४ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने भएको छ । विद्यालयमा आश्रय लिइरहेका प्रभावितको अन्यत्र व्यवस्थापन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय विदुर नगरपालिकाले गरेको हो ।
नगर कार्यपालिकाको १४३औँ बैठकले बाढीबाट सिर्जित समस्या समाधान तथा प्रभावितको व्यवस्थापनका लागि विद्यालयलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्नुपरेको अवस्थामा पठनपाठन प्रभावित हुन नदिन अन्य व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण घरबास गुमाएका नगरवासीलाई घरभाडाका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । घर नभएका प्रभावितलाई घर भाडामा लिएर बस्न प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, बाढी प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ ।
बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा दाताको सहकार्यमा अस्थायी आवास निर्माण गरी पुनःस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, विदुर नगरपालिकाभित्र सञ्चालनमा रहेका होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाबाट आएका भोटेकोशी बाढी प्रभावित नागरिकको व्यवस्थापनका लागि सम्बन्धित जिल्ला तथा पालिकालाई आग्रह गर्ने निर्णय गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology