बाबा बाल्यकालमा हुँदा हजुरको मुहारमा हेर्न सकिनँ ।
डरले कहिले बोल्न सकिनँ रिसले कहिले बुझ्न सकिनँ ।।
अर्तीका ती अमृतवाणी गालीजस्तै ठानेँ मैले ।
हजुरको त्यो मायाभित्र लुकेको मर्म बुझिन कैले ।।
टालेर त्यो कपडा लाउँदा लोभी ठाने बाबा भनी ।
चुडिएको त्यो चप्पललाई डोरी बाँधेर हिँड्दा पनि ।।
भएन थाहा घरखर्च र साहुको चित्त बुझाउनुपर्छ ।
आफू दुःखमा बाँचेर पनि सन्तान हँसाउनुपर्छ ।।
हजुरका ती पुराना लुगा आज मलाई राम्रो लाग्छन् ।
डोरी बाँधिएका चप्पलहरू अमूल्य निधि लाग्छन् ।।
त्यो पसिना, त्यो परिश्रम, मौन त्याग बुझ्न सकिन ।
हजुरले दिन खोज्नुभएको जीवनपाठ बुझ्न लागिन ।।
जुन दिन आफ्नै काँधमाथि जिम्मेवारीको भार आयो ।
त्यसै दिन बाबाको पीडा मेरो हृदयभित्र जाग्यो ।।
सन्तानका लागि आफूलाई बिर्सनुपर्दो रहेछ कतै ।
बाबा भनेको मनभित्र पीडा लुकाउनु रहेछ सधै ।।
बल्ल आज सम्झेँ बाबा हजुरले के के गर्नुभयो ।
आफू भोकै बसेर पनि मेरो मुखमा अन्न भर्नुभयो ।।
मेरो सुखका लागि आफ्ना कति रहर त्याग्नुभयो ।
मेरो भविष्य बनाउन आफ्नो वर्तमान जलाउनुभयो ।।
आज हजुरसँग बोल्न पाएँ कति कुरा गर्थें होला ।
आँखाभरि आँसु राखी माफ गर भनी भन्थें होला ।।
हिजो नबुझेका अर्तीहरू आज कण्ठै पार्थें होला ।
एकपटक काखमा पाएँ जीवनभरि रुन्थें होला ।।
हजुरको कठोर बोलीभित्र माया थियो, बुझिन मैले ।
हजुरको व्यवहारभित्र शिक्षा थियो सम्झिन कैले ।।
समयले सिकायो आज बाबाको मन कति गहिरो हुन्छ ।
बाबा टाढा भएपछि अभाव कति खड्कि रहन्छ ।।
आज म पनि बाबा बनेँ, बल्ल हजुरको दुःख बुझे ।
सन्तानको खुसी खोज्दा आफ्नै पीडा लुकाउन सिके ।।
हिजो हजुरले बोक्नुभएको जिम्मेवारीको भारी देख्छु ।
हरेक पाइला चाल्दा बाबा, हजुरकै छाया भेट्छु ।।
जहाँ हुनुहुन्छ बाबा, त्यहीबाट आशीर्वाद दिनु ।
गल्ती गर्दा हजुरकै अर्ती सम्झी सही बाटो सिकाइ लिनु ।।
मेरो शिरमाथि सधैँ हजुरको हात रहिरहोस् बाबा ।
मेरो कर्ममा हजुरकै संस्कारको साथ रहिरहोस् सदा ।।
अब त बोल्ने माध्यम यही एउटा तस्वीर भएको छ ।
तस्वीरभित्र हजुर हाँस्दा मेरो मन फेरि रोएको छ ।।
फोटो हेरी मनका कुरा दिनरात सुनाउँछु आज ।
टाढा भए पनि हृदयमा सधैँ हजुरलाई पाउँछु बाबा ।।
हजुरले टालेको कपडा मेरो लागि सम्मान भयो ।
डोरी बाँधेको त्यो चप्पल त्यागको पहिचान रह्यो ।।
हिजो लोभ र कञ्जुस्याइँ ठानेँ, आज माया नै रहेछ ।
बाबा धेरै पछि बुझेँ हजुर त मेरो संसार नै रहेछ ।।
जहाँ हुनुहुन्छ, सुखी हुनुहोस सपनामा आइरहनुहोस ।
हजुरको अधुरो सपना पूरा गर्ने शक्ति दिइरहनुहोस् ।।
म हजुरकै तस्वीर हेरी मनका कुरा गरिरहन्छु ।
बाबा अर्को जुनी पाएँ भने फेरि हजुरकै सन्तान बन्न चाहन्छु ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology