काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको करिब पौने चार मिनेट लामो ट्रेलरमा प्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न पक्षलाई प्रस्तुत गरिएको छ ।
हाँसो र भावनाबीचको सम्बन्धलाई देखाइएको ट्रेलरले पारिवारिक सम्बन्धमा आउने आरोह-अवरोहलाई कथाको मुख्य आधार बनाएको छ। निर्देशक बोहराले चलचित्र विशुद्ध मनोरञ्जनात्मक रहेको बताउँदै दर्शकलाई साढे दुई घण्टा मनोरञ्जनसँगै भावनात्मक अनुभव दिने उद्देश्यले निर्माण गरिएको बताएका छन् । चलचित्र असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
करिब १८ वर्षपछि यही चलचित्रमार्फत ठूलो पर्दामा फर्किएका हास्य अभिनेता नारायण त्रिपाठीले पुनरागमनलाई लिएर आफू उत्साहित रहेको बताएका छन्। अमेरिकामा आयोजित विशेष प्रदर्शनमा दर्शकबाट पाएको माया र प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ। चलचित्रमा मुकुन, विल्सन विक्रम राई, उमेश राई, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माता रामनारायण उपाध्यायले दर्शकलाई भरपूर मनोरञ्जन दिने उद्देश्यले चलचित्र निर्माण गरिएको बताउँदै यसमा सामाजिक सद्भाव र पारिवारिक प्रेमको कथासमेत समेटिएको जानकारी दिएका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई आरआर फिल्मस्ले देशभर वितरण गर्नेछ ।
ट्रेलर- https://youtu.be/BMa9kQhvdqw
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology