बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वली माओवादी कार्यकर्ता एकराज बस्नेत विचको विवादको कारण आर्थिक लेनदेन भएको निष्कर्ष निकालेको छ । शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै छानबिन समितिले आर्थिक लेनदेनको विषयमा वलीले आवेगमा बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले ठहर गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखियो निष्कर्ष निकालेको हो । छानबिन समितिका संयोजक शर्माले भने, ‘अन्य उपायबाट रकम असुली गर्नुपर्दथ्यो, मन्त्री ज्यूले पदीय मर्यादा कायम गरेको देखिएन ।’ वलीले बस्नेतसंग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको संयोजक शर्माले बताए ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताए । ‘बस्नेतले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको पनि आशंका छ’, मुख्यमन्त्री केसीले भने । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने उनको भनाइ छ ।
राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीमाथि हातपात गरेकी थिइन् ।
उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology