काठमाडौं । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले छलफल अगाडी बढाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य मन्त्री निशा मेहतासहित सचिव डा. विकास देवकोटा, विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए ।
बैठकमा टेलिमेडिसिन सेवा दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो । सेवाका लागि आवश्यक जनशक्तिको छुट्टै व्यवस्थापन गरी सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो ।
त्यस्तै, टेलिमेडिसिनमार्फत प्रदान गरिने सेवाको अभिलेख व्यवस्थित गर्ने, बिरामीका विवरण सुरक्षित राख्ने तथा चिकित्सकीय परामर्शसम्बन्धी जानकारीको व्यवस्थित अभिलेखीकरण गर्ने विषयमा छलफल भएको थियो।
टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या र चुनौती पहिचान गरी त्यसको समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा पनि बैठकमा जोड दिइएको थियो। विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय र व्यवस्थित बनाउने तथा टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकता दिइएको थियो।
मन्त्री मेहताले टेलिमेडिसिनलाई प्रविधिमा आधारित सेवाका रूपमा मात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन् । सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै उनले नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधारसहित आगामी कार्ययोजना अघि बढाउनुपर्ने बताइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology