काठमाडौं । सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार क्यानडेली लेखिका एनी कार्सनलाई प्रदान गरिएको छ ।
नोबेल समितिका अनुसार शास्त्रीय साहित्यिक परम्परासँग सिर्जनात्मक संवाद गर्दै समकालीन साहित्यका नयाँ रूप निर्माण गरेकाले उनलाई पुरस्कार प्रदान गरिएको हो ।
कार्सनका चर्चित कृतिमध्ये ‘नक्स’, ‘द ब्यूटी अफ द हस्बन्ड’ र ‘अटोबायोग्राफी अफ रेड’ रहेका छन्। सन् २०१० मा प्रकाशित ‘नक्स’ आफ्ना दिवंगत भाइ माइकलको सम्झनामा लेखिएको कृति हो ।
सन् १९९८ मा प्रकाशित ‘अटोबायोग्राफी अफ रेड’मा उनले प्राचीन ग्रिक साहित्यको कथालाई आधुनिक शैलीमा प्रस्तुत गरेकी छन् । उनका कृतिमा कविता, गद्य र शास्त्रीय साहित्यिक परम्पराको नयाँ प्रयोग देखिन्छ ।
नोबेल समितिले कार्सनले साहित्यका स्थापित सीमा र शैलीलाई निरन्तर चुनौती दिँदै चित्रकला, रंगमञ्च तथा अन्य कलासँग समेत सहकार्य गरेको जनाएको छ । उनका सिर्जनाले सन् १९९० को दशकदेखि अन्तर्राष्ट्रिय साहित्य तथा कला क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेको समितिको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology