कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले महाकाली नदीमाथि रहेको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमन गर्दै यसको शीघ्र पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताए । उनले पुलको यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।
लेखकले उक्त पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई समग्र देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरे । कुनै समय नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको दोधारा चाँदनीलाई देशका अन्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोड्न पुलले महत्त्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे ।
२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा आफूले महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण गरेर दोधारा चाँदनीलाई जोड्नुपर्ने प्रस्ताव राखेको लेखकले बताए। त्यतिबेला कतिपयले यस्तो पुल निर्माण असम्भव भन्दै ठट्टा गरेको स्मरण गर्दै उनले नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताको प्रयासबाट पुल निर्माण गर्न सफल भएको उल्लेख गरे ।
उनका अनुसार उक्त पुल निर्माण भएपछि नेपालका अन्य स्थानमा पनि लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पुगेको थियो ।
ऐतिहासिक तथा रणनीतिक महत्त्व बोकेको पुलको संरक्षण गर्नु आवश्यक रहेको उल्लेख गर्दै लेखकले यसको पुनर्निर्माणसँगै नियमित मर्मतसम्भारको दीर्घकालीन व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology