काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा आइतबार १० किलोमिटर दूरीको ‘काठमाडौँ फिल्म फेस्टिभल हेरिटेज रन’ (सम्पदा दौड) आयोजना गरेको छ। बिहान ६ बजे वसन्तपुरबाट सुरु भएको दौड विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्र हुँदै पुनः वसन्तपुरमै पुगेर समापन भएको थियो ।
दौडका लागि ७०४ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये १५२ महिला र ५५२ पुरुष छन् । निर्धारित समयभित्र नाम दर्ता गराएका ५५० धावकबीच प्रतिस्पर्धा हुनेछ भने अन्य १२४ जनाले प्रतियोगिताबाहिर रहेर दौडमा सहभागिता जनाएका थिए ।
धावकलाई प्रोत्साहन गर्न लगातार तीनवटा प्यारालिम्पिकमा स्वर्ण, रजत र कांस्य पदक जितेकी अस्ट्रेलियाली खेलाडी क्याट्रिना वेब सहभागी हुने कार्यक्रम छ । नेपाली धावक सन्तोषी श्रेष्ठ र हरिबहादुर रोकायालगायत खेलाडीले पनि धावकलाई प्रोत्साहन गरेका छन् ।
दौडमा काठमाडौँ महानगरपालिकाका १३ वटा वडा समेटेको छ । वसन्तपुरबाट सुरु हुने मार्ग इन्द्रचोक, असन, जमल, दरबारमार्ग, नागपोखरी, नक्साल, हाँडीगाउँ, मालीगाउँ, कालोपुल, गौशाला, मैतीदेवी, डिल्लीबजार, रामशाहपथ, भद्रकाली, सहिदगेट, धरहरा र न्युरोड हुँदै पुनः वसन्तपुर पुरेको थियो । महिला र पुरुष दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाएका छन् भने दौड पूरा गर्ने सबै धावकलाई पदक प्रदान गरिएको छ ।
महानगरपालिकाको आयोजनामा कात्तिक १३, १४ र १५ गते काठमाडौँ फिल्म फेस्टिभल आयोजना हुँदैछ । महोत्सवमा युवा चुनौती, नेपाल पानोरामा र अन्तर्राष्ट्रिय पानोरामा विधाअन्तर्गत ४० वटा चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । साथै रेड कार्पेट, विशेष प्रशिक्षण कक्षा, छलफल र पुरस्कार वितरणलगायत कार्यक्रम पनि सञ्चालन हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology