बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले बिहीबार दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको उद्घाटन पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै खनालले अन्तर्राष्ट्रिय घटनाक्रम र विभिन्न आन्दोलनका कारण नेपालका वामपन्थी पार्टी निराश हुनुपर्ने अवस्था नरहेको बताए । विश्वव्यापी रूपमा पुँजीवादभन्दा कम्युनिष्टहरूले अंगीकार गरेको समाजवाद उपयुक्त रहेको मान्यता स्थापित हुँदै गएको उनको दाबी थियो ।
ब्राजिलमा चौथोपटक कम्युनिष्ट नेता राष्ट्रपति निर्वाचित भएको र लाखौँ जनता विजय उत्सव मनाउन सडकमा उत्रिएको घटनालाई नेपालका वामपन्थीका लागि सकारात्मक संकेतका रूपमा लिनुपर्ने उनले बताए ।
खनालले दीपक भट्टजस्ता बिचौलियालाई प्रयोग गरेर केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट एकता भताभुङ्ग बनाएको आरोप लगाए । जेनजी आन्दोलनले पुराना दल र नेतृत्वप्रति नकारात्मक धारणा स्थापित गरिदिएको भन्दै उनले पार्टीमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।
युवा पंक्तिको सहभागिता नबढाए नेपाली कम्युनिष्ट पार्टी पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे र मोहन वैद्य नेतृत्वका पार्टीजस्तै खुम्चिएर एकाध जिल्लामा सीमित हुनुपर्ने जोखिम रहेको उनले बताए ।
कार्यक्रममा पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले वर्तमान सरकार पुलिस स्टेट निर्माणतर्फ अग्रसर भएको आरोप लगाए । पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा चुनौतीको बहानामा पक्राउ गर्ने र बहालवाला मन्त्रीलाई समेत राति १२ बजे थुन्न आदेश दिने कार्यले सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।
सरकारको आलोचना गर्ने प्रेस, न्यायालय र प्रहरीलाई समेत आफ्नो मातहतमा राख्ने प्रयास भइरहेको बरालले दाबी गरे । उनले गृहमन्त्री सुधन गुरुङसँग हदबन्दीभन्दा बढी जग्गा रहेको विषय सार्वजनिक भए पनि कारबाही नभएको आरोप लगाए ।
‘हदबन्दीभन्दा बढी भएको जग्गा सरकारले कब्जा गर्न सक्छ,’ उनले प्रश्न गरे । सुशासन र पारदर्शिताको कुरा गर्ने सरकारका मन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा र सुन रहेको विषय आश्चर्यजनक भएको उनले बताए ।
‘गिट्टी कुट्ने बुवा आमाको भिडियो आउँछ, मन्त्रीको सुन देखिन्छ,’ उनले भने, ‘रास्वपाका सांसद हुनेबित्तिकै सुन फल्छ ।’
नेकपाका केन्द्रीय संयोजन समिति सदस्यसमेत रहेका बरालले सुकुम्बासीलाई रुवाएर पठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गलत बाटोमा हिँडेको आरोप लगाए । बुटवलसहित देशका विभिन्न स्थानका सुकुम्बासीले पछि मात्रै लालपुर्जा प्राप्त गरेको उल्लेख गर्दै उनले उनीहरूको समस्या समाधानमा सरकार संवेदनशील हुनुपर्ने बताए ।
नागरिकता विवादमा परेकी तिब्बती शरणार्थीकी छोरी तथा विदेशबाट करोडौँ रकम खातामा आएको विषय सार्वजनिक भएकी आनी छोइङ डोल्मालाई छानबिन गरी कारबाही गर्नुको साटो लुम्बिनी विकास कोषमा नियुक्त गरिएको भन्दै बरालले आपत्ति जनाए ।
नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार जागरण अभियानअन्तर्गत सदस्यता तथा संगठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी र सरकारका गलत कदमबारे जनतालाई जानकारी गराउने कार्यक्रम सञ्चालन गरिनेछ ।
अभियान उद्घाटन समारोहमा नेकपा रुपन्देहीका संयोजक बाबुलाल यादव, पूर्वप्रदेश सांसद दीपा विश्वकर्मा तथा नेता पुष्पराज ढकाल ‘क्षितिज’लगायतले पनि बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology