काठमाडौं । आज चैत २० अर्थात नेपालमा पहिलो पटक रेडियो स्थापना भएको दिन । प्रस्तुत छ, सामाजिक संजाल तथा विभिन्न वेबसाईटको सहयोगमा हाम्रा सहकर्मी भरत पौडेलले तयार पार्नुभएको यो सामग्री - सम्पादक
सन् १९२० मा बिश्वमा रेडियो स्थापना भएको ३० बर्ष पछि बि स २००७ चैत्र २० मा नेपालमा औपचारिक रुपमा रेडियो संचालनमा ल्याइएको थियो । नेपालको रेडियो इतिहासमा पहिलो रेडियो प्रसारण भोजपुरबाट भएको थियो ।
तत्कालिन जनमुक्ती सेनाले भोजपुर कब्जा गरेपछि डोकोमा बोकेर वायरलेस ट्रान्समिटरको मद्दतबाट भोजपुरबाटै पहिलो पटक रेडियो प्रसारण गरेका थिए । यो प्रसारणको पहिलो उद्घोषक जयन्द्रबहादुर रहेका थिए ।
बि स २००३ साल मंसिरमा हाल विद्युत प्राधिकरण रहेको भवनबाट ५ वाटको २ शक्तिबाट रेडियो आरम्भ भएको थियो । दिउँसो ०१:३० देखि ०३:०० सम्म प्रसारण हुने गरेको यो सेवा ७-८ महिना पछि नै बन्द भएको थियो ।
बि स २००६ तिर जनमुक्ती सेनाले मोरंङ जुट मिल आफ्नो कब्जामा लिई सो मिलको अतिथी गृहको पिंडीबाट पौष ६ का दिन ५० वाट आउटपुट क्षमताको ट्रान्समिटरबाट 'क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियो' को नामबाट ४१ मिटर व्याण्ड सर्ट वेभमा रेडियो प्रसारण गरेका थिए । प्रसारण समय बिहान ६ देखि ७, दिउँसो २ देखि ३ र बेलुका ६ देखि ७ रहेको थियो । राणा शासनको अन्त्य गर्न स्थापित रेडियोबाट तारिणीप्रसाद कोइरालाले नेपालीमा समाचार बाचन गरेका थिए ।
बि स २००७ को क्रान्ति सकिएपछि सिंहदरवार भित्र रेडियो स्थापना गर्ने उद्देश्यले काठमाडौ फर्किएका तारिणीप्रसादले दरवार भित्रको राणा शासकका सन्ततिहरु पढाउन प्रयोग हुने गरेको एक भवन प्रयोग गरी बि. स. २००७ चैत्र २० गते पुरानै नामबाट बिहान बेलुका १-१ घण्टाको कार्यक्रम प्रसारण गरिने गरी रेडियो सुरुवात गरे ।
प्रसारण शुभारम्भमा रश्मि राज्यलक्ष्मिको उद्घोषण पछि तारिणीप्रसादले एक लामो भाषण गरेका थिए भने सो पछि रश्मि रज्यलक्ष्मीकै उद्घोषण हरिप्रसाद रिमालले हारमोनियम मार्फत शंकर लामिछानेको रचना गाएका थिए । एक घण्टाको सो प्रभातकालिन प्रसारणको अन्तयमा तारिणीप्रसादबाट नेपाली र मधुसुदन देवकोटाबाट अंग्रेजीमा समाचार वाचन भएको थियो ।
बि स २००८ मा आएर रेडियो प्रसारणलाई ' प्रजातन्त्र नेपाल रेडियो' मात्र भन्न थालिएकोमा यसैको केही महिना पछि पुन: परिमार्जित गरि 'नेपाल रेडियो' बनाइयो । केही दिन पछि यो पनि संशोधन गरि 'रेडियो नेपाल ' शब्द प्रयोगामा ल्याइयो ।
सो समय रेडियोमा कार्यरत बालकृष्ण समबाट ' रेडियो नेपाल' शब्द नेपाली व्याकरणमा सामञ्जस्य नभएको तर्क प्रस्तुत गरेको भए पनि सोहि नामबाट रेडियो सञ्चालन गरिएको थियो ।
सो समयको रेडियो स्टेसन सुबिधा सम्पन्न थिएन । दिल्ली र काठमाडौ वार्ता गर्न प्रयोग हुने गरेको राणाकालिन आकाशवाणी सेट सो भवनमा पहिले देखि नै थियो भने सोही समयका फर्निचर नै प्रयोगमा ल्याइएको थियो । दराजभित्र रहेको अंग्रेजी टाइप गरिएका कागजलाई धेरै समय सम्म समाचार लेख्न प्रयोग गरिएको थियो । केही समय त समाचार बाचकहरुले समाचार लेखनका लागि आफ्नो घर बाट पनि कागज लिएर जाने गरेका थिए ।
साथै संगित पक्षका हारमोनियम र तबला सुब्बा ऋद्धिबहादुर मल्लको घरबाट मागेर ल्याइएको थियो । यसका साथै खल्तिमा अटाउने एक सानो माइक टेबुलमा रहेको हुन्थ्यो, जसलाई उद्-घोषिकाले उद्-घोष गर्दै यता उता सारिदिनु पर्ने थियो ।
एक पटक तलब नपाएको झोकमा रेडियोमा कार्यरत पियनले सो माइक नै उठाएर हिंडेपछि तारिणीप्रसादले सो पियन फेला पारी आफ्नो खल्तीबाट केही रुपैया दिई माइक फिर्ता ल्याएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology