काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’ का लागि यस वर्षको बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कार जित्ने अहिलेसम्मकै सबैभन्दा पाका लेखक बनेका छन् ।
सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड पुरस्कार प्रदान गरिएको थियो । करिब ६० वर्षदेखि लेखन क्षेत्रमा सक्रिय ह्यारिसनका आफ्नै पाठक र प्रशंसकको विशेष समूह रहेको छ ।
उनको विजयी उपन्यास रहस्यमय विपत्तिपछि पूर्ण रूपमा परिवर्तन भएको बेलायती समाजको कथामा आधारित छ । उपन्यासलाई लिएर पाठक तथा समीक्षकबीच फरक धारणा देखिएका छन् । केही समीक्षकले यसलाई उदास तर उत्कृष्ट तथा सपनाजस्तो र जटिल कृति भनेका छन् ।
पुरस्कार निर्णायक समितिकी अध्यक्ष डेम मेरी बियर्डले उपन्यास पढ्न चुनौतीपूर्ण भए पनि उत्कृष्ट साहित्यको उदाहरण भएको बताएकी छन् । उनका अनुसार पुस्तकले पाठकलाई सोच्ने नयाँ दृष्टिकोण दिनुका साथै कथाको गम्भीर विषयवस्तुका बाबजुद आशाको किरण पनि देखाउँछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology