काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभेद नरहेको बताएका छन् ।
आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी वा सरकारले गरेका काममा चित्त नबुझे प्रश्न उठाउनुलाई विरोधका रूपमा बुझ्न नहुने बताए ।
पार्टी वा सरकारले गलत बाटो लिएको अवस्थामा सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले रास्वपा सुशासनको मुद्दामा कुनै सम्झौता नगर्ने बताए। राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने भन्दै सुशासनका विषयमा पार्टी सरकारको साथमा रहने उनको भनाइ थियो ।
महामन्त्री आचार्यको नेतृत्वमा २० सदस्यीय रास्वपा प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणमा गएको छ । भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिसँग छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
भ्रमण दलमा रास्वपाका सांसदहरू गणेश पराजुली,हरि ढकाल, कविन्द्र बुर्लाकोटी,लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा,सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा,रमेशकुमार सापकोटा,डा. धनञ्जय रेग्मी,गजला शमिम मिकरानी,श्रीराम न्यौपाने, डा. राम लामा,पुनमकुमारी अग्रवाल,डा .आनन्दबहादुर चन्द,डा. सुजाता तामाङ,पुष्पाकुमारी चौधरी,अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology