काठमाडौँ । सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू खुला रहने भएका छन् ।
छठ पर्वको भोलिपल्ट कात्तिक ३० गते सार्वजनिक बिदा दिइए पनि महिनाको अन्तिम दिन भएकाले राजस्व परिचालन प्रभावित हुन नदिन आन्तरिक राजस्व विभागले मातहतका कार्यालय खुला राख्न निर्देशन दिएको हो ।
विभागका अनुसार गत आर्थिक वर्षको आय विवरण बुझाउन, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधा उपयोग गर्न, बक्यौता फरफारक गर्न तथा अन्तःशुल्कजन्य वस्तु निष्कासनका लागि करदातालाई सहज बनाउन कार्यालय खुला राखिनेछ ।
सोमबार ठूला करदाता कार्यालय (हरिहरभवन), मध्यमस्तरीय करदाता कार्यालय (बबरमहल) र देशभरका सबै आन्तरिक राजस्व कार्यालय सञ्चालनमा रहनेछन् ।
विभागले राजस्व संकलन गर्ने बैंकहरूसँग समन्वय गरी आवश्यक सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology