काठमाडौं । कृत्रिम बौद्धिकतासम्बन्धी लगानीको भविष्यप्रति लगानीकर्ताको चिन्ता बढ्दै जाँदा अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ ।
अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्य घट्नुका साथै हालै सेयर बजारमा प्रवेश गरेको कृत्रिम बौद्धिकता कम्पनी एन्थ्रोपिकको सेयरमा समेत भारी गिरावट आएको छ ।
सेयर बजारमा कारोबार सुरु भएको पहिलो दिन उत्साहजनक प्रदर्शन गरेको एन्थ्रोपिकको सेयर मूल्य शुक्रबार एकै दिन ८.५ प्रतिशतले घटेको छ । कारोबारका क्रममा यसको मूल्य १२ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ८५ डलर आसपास पुगेको थियो । कम्पनीले पहिलोपटक सार्वजनिक निष्कासनमार्फत प्रतिकित्ता ८३ डलरमा सेयर बिक्री गरेको थियो । बिहीबार कारोबार सुरु हुँदा यसको मूल्य १११.५० डलरसम्म पुगेको थियो ।
कृत्रिम बौद्धिकता क्षेत्रमा पछिल्लो समय भइरहेको ठूलो लगानीले अपेक्षित प्रतिफल दिन नसक्ने हो कि भन्ने चिन्ता लगानीकर्तामा बढेको छ । पछिल्लो एक वर्षमा केही ठूला प्रविधि कम्पनीले मात्रै यस क्षेत्रमा एक ट्रिलियन डलरभन्दा बढी लगानी गरेका छन् । तर, यति ठूलो लगानीबाट नाफा कहिले र कति प्राप्त हुन्छ भन्ने स्पष्ट नहुँदा बजारमा जोखिम बढेको विश्लेषकहरूको भनाइ छ ।
शुक्रबार अमेरिकी बजारका प्रमुख तीन सूचकांकमा उल्लेखनीय गिरावट देखियो । एस एन्ड पी ५०० सूचकांक ३.७ प्रतिशत, डाउ जोन्स १.९ प्रतिशत र प्रविधि कम्पनीहरूको बाहुल्य रहेको न्यास्ड्याक सूचकांक ५.३ प्रतिशतले घटे । एस एन्ड पी ५०० र डाउ जोन्स पछिल्लो उच्च विन्दुबाट १० प्रतिशत वा बढी तल झरेपछि सुधारात्मक गिरावटको अवस्थामा पुगेका छन् ।
यस क्रममा विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाको सेयर मूल्य १३.७ प्रतिशतले घटेको छ । अमेरिकी धितोपत्र नियामक निकायले कम्पनीको लेखा प्रणालीबारे अनुसन्धान गरिरहेको भन्ने रोयटर्सको समाचारपछि लगानीकर्ताको चिन्ता थप बढेको हो । यद्यपि, उक्त अनुसन्धानबारे आधिकारिक पुष्टि भएको छैन ।
त्यस्तै, एलन मस्कका कम्पनी टेस्ला र स्पेसएक्सको सेयर मूल्य पनि ७.६ प्रतिशतभन्दा बढीले घटेको छ । स्पेसएक्सले एनभिडियाका चिप खरिदका लागि ठूलो परिमाणमा ऋणपत्र बिक्री गर्ने घोषणा गरेपछि कम्पनीको सेयरमा दबाब परेको हो । मेटाको सेयर ५ प्रतिशतभन्दा बढी र अमेजनको ४ प्रतिशतभन्दा बढीले घटेको छ। एप्पल र अल्फाबेटको सेयरमा पनि गिरावट देखिएको छ ।
अमेरिकामा मात्रै नभई युरोप र एसियाली बजारमा समेत प्रविधि कम्पनीहरूको सेयर मूल्य घटेको छ । दक्षिण कोरियाको कोस्पी र जापानको निक्केई सूचकांक करिब ५ प्रतिशतले घटेका छन् । ताइवानको सेयर बजार शुक्रबार करिब ६ प्रतिशतले घट्दा साप्ताहिक गिरावट १७ प्रतिशतभन्दा माथि पुगेको छ। सन् १९९० यताकै ठूलो साप्ताहिक गिरावटमध्ये एकका रूपमा यसलाई हेरिएको छ ।
बजार विश्लेषकहरूका अनुसार कृत्रिम बौद्धिकताको माग अझै बलियो रहे पनि लगानीकर्ताले अब कम्पनीहरूको तीव्र वृद्धिभन्दा वास्तविक आम्दानी, नगद प्रवाह र नाफा कमाउने क्षमतामा बढी ध्यान दिन थालेका छन् । एन्थ्रोपिकको उत्साहजनक सेयर निष्कासनले समेत समग्र कृत्रिम बौद्धिकता क्षेत्रप्रति लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न नसकेको विश्लेषण गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology