दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलामा घरायसी विवादका क्रममा बन्चरो प्रहार हुँदा घाइते भएका श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ भने ६ वर्षीय छोरा गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ३८ वर्षीय अम्मर सलामी मगरले आज बिहान करिब ९: ३५ बजे सामान्य घरायसी विवादपछि आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिष्मा सलामीमाथि दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेका थिए ।
घाइते चारै जनालाई उपचारका लागि दुल्लु नगर अस्पताल लगिएकोमा चिकित्सकले तपेन्द्र र करिष्मालाई मृत घोषणा गरेका थिए । गम्भीर घाइते मनिषा र मिलनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो। उपचारकै क्रममा दिउँसो मनिषाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते ६ वर्षीय मिलनको उपचार भइरहेको छ । स्थानीयले बिहान १० बजे प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न अम्मरलाई बन्चरोसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology