काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ ।
लामो समयको प्रतीक्षापछि कर्णालीमा हुन लागेको राष्ट्रिय खेलकुदका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताका खेलहरू उद्घाटनअघि नै सञ्चालन हुने गरी तालिका सार्वजनिक गरिएको छ ।
आज मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेलछन् ।
प्रतियोगितामा ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ। सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका कुल ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
१०औँ राष्ट्रिय खेलकुदका अधिकांश प्रतिस्पर्धा सुर्खेतमा आयोजना हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन् । बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ ।
दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
यस संस्करणको राष्ट्रिय खेलकुदमा पहिलोपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology