सुनवल । पश्चिम नवलपरासीको सुनवलमा जारी ‘छैठौँ सुनवल महोत्सव २०८३’ मा कानुन विपरीत बियरको ब्रान्ड र नाम अंकित विज्ञापन सामग्री राखिएको पाइएको छ । मंसिर ३ देखि १५ गतेसम्म सञ्चालन भइरहेको महोत्सवको मुख्य मञ्चअगाडि रातो पृष्ठभूमिमा बियरको नाम र प्रकार स्पष्ट देखिने गरी ब्यानर राखिएको तस्बिर सार्वजनिक भएको छ ।
तस्बिरमा बियरको बोतलको आकृति नदेखिए पनि ब्रान्डको नाम तथा ‘बियर’ शब्द स्पष्ट लेखिएको छ । सार्वजनिक स्थल, मेला तथा महोत्सवमा मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै महोत्सवको मञ्चअगाडि नै यस्तो सामग्री राखिनुले कानुनको कार्यान्वयनमाथि प्रश्न उठेको छ ।
यस विषयमा मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यसँग कुरा गर्दा कानुन अनुसार राख्न नमिल्ने भएपनि व्यवहारिक हिसाबले मेला सञ्चालनका लागि सहयोग गरेका कारण बोर्ड राखेको बताए । कानुन र संविधान हेरेर सबै कुरा नचल्ने भन्दै उनले व्यवहारिक पक्ष हेर्न आग्रह गरे ।
के छ कानुनी व्यवस्था ?
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ ले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न निषेध गरेको छ । त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा प्रचलित विज्ञापन आचारसंहिताले समेत मादक पदार्थको विज्ञापनलाई गैरकानुनी मानेको छ । कानुनबमोजिम मदिराजन्य पदार्थको विज्ञापन वा प्रचारप्रसार गर्नेलाई १० हजार जरिवाना तथा सामग्री जफत गर्नेसम्मको व्यवस्था छ ।
सर्वोच्च अदालतले समेत सार्वजनिक स्थल, मेला महोत्सव तथा सञ्चारमाध्यमबाट मदिराको विज्ञापन पूर्ण रूपमा रोक्न निर्देशन दिइसकेको छ । मञ्चको बार वा प्रायोजनका नाममा ब्रान्डको नाम र विवरण राखिए पनि त्यो प्रचारप्रसारकै दायरामा पर्ने कानुनी जानकारहरू बताउँछन् ।
मेला तथा महोत्सवमा हुने यस्ता गतिविधिको नियमन र अनुगमन गर्ने जिम्मेवारी स्थानीय प्रशासन, सम्बन्धित पालिका तथा महोत्सव अनुगमन समितिको रहन्छ । कानुनविपरीत राखिएका यस्ता विज्ञापन सामग्री हटाउने र अनुगमनलाई प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिएको छ ।
ब्यानरमा प्रयोग भएको बियर सीजी ब्रुअरी नेपाल लिमिटेडको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology