काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूमा पदलोलुपता हुन नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा पंक्ति अनुशासनमा हिँड्न आवश्यक रहेको बताएका हुन् ।
युवाहरू पदबिनै बस्न नसक्ने अवस्था आयो भने पार्टीमा २०/३५ जनासम्म उपाध्यक्ष बनाउनुपर्ने उनले बताए । युवाहरूमा कमजोरीहरू देखा परेको भन्दै उनले भने, 'युवाहरूका केही कमिजोरीका पक्षहरू पनि देखिएका छन् । युवाहरूमा ती कमीकमजोरीका पक्ष हुनु भएन । युवा उमेर भनेको भर्खरभर्खर राजनीतिमा प्रवेश गर्दै गरेको उमेर हो । यतिबेलै पदलोलुपता आयो भने, यतिबेलै महत्त्वाकांक्षी पलायो भने, पदबिनै बस्न नसक्ने अवस्था भयो भने, पदै दिनका लागि ३०/३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आउन सक्छ।'
त्यस्तै युवाहरूले माथिल्ला पदहरूमा मात्र दाबी गर्ने हो भने पार्टी बलियो नहुने उनको भनाइ थियो । पछिल्लो समय राजनीतिमा युवापंक्तिलाई अवसर नदिइएको भन्ने आरोप लागिरहेका बेला ओलीले भने युवा उमेर भर्खरभर्खर राजनीतिमा प्रवेश गर्ने उमेर भएको बताएका हुन् । ओलीले अगाडि भने, 'युवाहरूलाई माथिल्ला पद नभइ नहुने भएर ठूला-ठूला कमिटी बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो होइन। आफूले भनेजस्तो भएन भने अनुशासन उल्लंघन गरेर हिँड्ने युवासुलभ गुण होइनन् । त्यसकारण युवाहरूमा वैचारिक स्पष्टता र दह्रोपन आवश्यक छ । त्यसलाई व्यवहारमा एकताबद्ध र अनुशासित रूपमा उतार्न सक्नुपर्छ । पद प्राप्तिका लागि होइन काममा प्रतिस्पर्धा गर्नुपर्छ ।'
अहिले पनि एमाले देशको सबैभन्दा ठूलो पार्टी भएको उनले बताए । चौतर्फी घेराबन्दीका बाबजुद पनि युवा शक्तिकै कारण एमाले देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको उनले बताए ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि वृद्ध र प्रौढ चाहिँदैन भनेर केही व्यक्तिहरूले समाज भत्काउने विचार अघि सारेको बताएका थिए । शनिबारै आयोजित एक कार्यक्रममा दाहालले भनेका थिए, 'एकथरि मान्छेहरू आजभोलि बूढाहरू, प्रौढहरू चाहिँदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थालेका छन्, त्यो समाज भत्काउने विचार हो ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology