राहुल देव सापकोटा, देवदह । देवदह नगरपालिका वडा नं. ७ मा हाटबजारको लागि निर्माण भएका नयाँ टहरा तथा सोही स्थानमा निर्मित सार्वजनिक शौचालयको उद्धाटन गरिएको छ । सोमबार एक कार्यक्रमबिच नगरप्रमुख ध्रुबप्रसाद खरेलले शितलनगर वनचौकीस्थित सोमबारे हाटबजारमा बनेका टहरा र शौचालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका बोल्दै प्रमुख खरेलले हाटबजार व्यवसायलाई मापदण्ड अपनाएर संचालन गर्न आग्रह गरे । हाटबजार निर्माणमा व्यवसायीहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै खरेलले स्थानीय व्यापारीलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने भनाइ व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेल लगायतले निर्माण भएको हाटबजार व्यवस्थित ढंगले संचालन गर्न व्यवसायीहरूलाई अनुरोध गरेका थिए ।
तराइ मधेस समृद्धि कार्यक्रम अन्तर्गत करिव १ करोड १० लाख लागतमा निर्माण भएका १८ वटा टहरामा १ सय ४५ वटा स्टल राख्न सकिन्छ ।
कार्यक्रममा देवदह नगरपलिकाका प्रवक्ता गणेश डुम्रे, वडा नं. ८ का वडा अध्यक्ष हरि पाण्डे, हाटबजार व्यवसायी, हाटबजार व्यवसाय संघका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।
देवदह नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा हाटबजार व्यवसायी संघ देवदहका अध्यक्ष मनिराम भण्डारीको स्वागत तथा नगरपालिकाका कर्मचारी सुनिल गिरिको संचालन रहेको थियो ।
शौचालय उद्धाटन तर विवाद कायमै
हाटबजारको उद्धाटन लगत्तै नगरप्रमुख खरेलले सोही स्थानमा निर्मित सार्वजनिक शौचालय आजैबाट संचालन भएको घोषणा गरेका थिए । करीब ६ बर्ष अघि तत्कालीन जिल्ला विकास समिती रुपन्देहीको लागतमा उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त शौचालयको निर्माण खर्च २४ लाख लागेको तर पालिकाले जम्मा १५ लाख मात्रै भुक्तानी दिएको भन्दै उपभोक्ता समितिले नै ताला लगाईराखेका थिए । जसलाई देवदह आवाजका युवाहरूले केहिदिन अघि ताला फोडेर संचालनको लागि दवाव दिएका थिए । लगत्तै पुनः उपभोक्ता समितिका अध्यक्ष केशव आचार्य नेतृत्वको समूहले तालबन्दी गरेको थियो ।
आज शौचालय संचालनको घोंषणा गर्नेक्रममा समेत उपभोक्ता समिति र निर्माणका क्रममा खरिद गरिएको सामानको रकम भुक्तानी नगरिएको भन्दै व्यवसायीहरूले नगरप्रमुख समक्ष गुनासो गरेका थिए । शौचालय संचालन गर्नुअघि आफुहरूले भुक्तानी पाउनुपर्ने उनीहरूको भनाइ छ ।
उक्त विवादबारे केही दिनमै उपभोक्ता समितिसंग छलफल गरेर सहमति कायम गरिने नगर प्रवक्ता गणेश डुम्रेले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology