गणेश भुसाल, स्याङ्जा । रसायनिक मल ढुवानीको जिम्मा लिएको ठेकेदारको लापरबाहीका कारण स्याङ्जाका किसानहरुले खेती लगाउने बेलामा मल अभावको पीडा भोग्नु परिरहेको छ । स्याङ्जा जिल्लामा रासायनिक मल बेचबिखन गर्ने कृषि सामाग्री कंपनिको प्रदेशिक कार्यालय भैरहबाले आबस्यक ध्यान नदिंदा यहांका किसानले दुख पाउनु परेको हो ।
लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेश सहित गण्डकी प्रदेशको स्याङ्जामा नेपाल सरकारको अनुदान प्राप्त रसायनिक मल आपूर्ती गर्ने जिम्मा कृषि सामाग्री कंपनीको प्रादेशीक कार्यालय भैरहवाको हो । यस कार्यालयले ठेक्का प्रणालीबाट मल ढुवानी गर्छ । टेण्डरको बेला ठेकेदारहरुले अनेक तिक्डम गरेर आंफुलाई टेण्डर पार्ने र ढुवानीको बेला जहाँ फाइदा धेरै हुन्छ त्यहाँ आबस्यकता भन्दा बढी मल पठाउने, फाइदा थोरै हुने ठाउंमा अबस्यकता अनुसार मल ढुवानीमा आलटाल गर्ने गर्छन ।
हिउंदेबालीको लागि ११०० मेट्रीक टन युरिया र त्यस्को अनुपातमा डीएपी पोटास ढुवानी गर्नु पर्नेमा अहिले सम्म जम्मा ४७० मेट्रीक टन मात्र युरिया ढुवानी भएको छ । यति बेला कृषकहरु खेतबारीमा छन र मकै खेतीको लागि युरियाको आबस्यकता छ । तर किसानले चाहिने जति मल पाएका छैनन। चाहिने जति मल नआएपछि जिल्ला सहकारी संघ लि. स्याङ्जाले तत्काल ६३० मे.टन युरिया उपलब्ध गराउन कृषि तथा पशुपंक्षी मन्त्रालयलाई अनुरोध गरेको छ ।
किसानले खेती लगाउने बेला मल नपाउने र सिजन सकिए पछि आफ्नो गोदाम खाली गर्नु पर्ने बेला मात्र मल पठाउने गरेकोले किसानलाई दु:ख हुने गरेको कुरा स्याङ्जा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले बताउनु भयो। उहाँ भन्नुहुन्छ - "राम्दी पुलबाट १० टन भन्दा बढी मल बोकेर गाडी आउन पाउंदैन, १० टन मात्र ल्याउंदा ढुवानीकर्ताले खोजे जति मुनाफा पाउदैन, अनि अन्ट सण्ट भनेर मल नै पठाउंदैन । खेतीको सिजन सकिएपछि गाडीले जब अन्त ढुवानी गर्ने माल पाउंदैन त्यति बेला उताको गोदाम खाली गर्न यता मल पठाउंछ र आफ्नो कोटा पूरा गर्छ । त्यसै कारण हरेक समय किसानहरुले मल अभाव खेप्नुपरेको छ। अहिले कोभिडको बेला मल आएपनि योजनाबद्द तरिकाले सुरक्षित गराउदै मल बाड्नुपर्ने छ तर अझै मल आउदैन ।"
गत बर्ष लकडाउनको बेला मल अभाव भै जिल्ला सहकारी संघले भैरहवा, पोखरा र बिरगंज समेतबाट आंफै खरिद गरि जिल्लाका सहकारी मार्फत किसानलाई मल आपूर्ती गरेको थियो । यो बर्ष नेपाल सरकारले मल अभाव हुन नदिने भनेको छ तर भैरहवामा मल छ स्याङ्जामा किसानलाई उस्तै सास्ती छ । संघका अध्यक्ष पौडेलले अभाब हुन नदिन स्याङ्जाको लागि आबस्यक पर्ने मल बीरगञ्ज बाट सिधै उपलब्ध हुने ब्यबस्था मिलाउन समेत मन्त्रालयलाइ अनुरोध गर्नु भएको छ ।
साथै साल्ट ट्रेडिङ लि. को डि पो राखी मल बितरणको ब्यबस्था मिलाउन समेत नेपाल सरकारलाइ अनुरोध गरेर जिल्ला सहकारी संघलाई पत्र लेखिएको छ। 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology