राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व पाएपछि सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा आज नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फुलका बिरुवा रोपी आफ्नो कामको शुरुवात गरेको बताउँदै आफ्नो १०० दिनको कामबाट सन्तुष्ट रहेको बताए । प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको शुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्धार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेस गरेका छन् ।
निजी संस्थासँगको साझेदारीमा सार्वजनिक ७२ वटा शौचालय सर्वसाधरणका लागि खुला गरिएको उनको भनाइ छ । मेयर आचार्यले महानगरपालिका अहिले आन्तरिक व्यवस्थापन बलियो बनाउने काममा लागिपरेको बताए । उनले पोखरा महानगरपालिकामा अहिले फोहोरको समस्या रहेकोले समस्या समाधानका लागि काम भइरहेको पनि उल्लेख गरे ।
उनले भन्नुभयो, ‘अहिले हामी आन्तरिक जीवनलाई व्यवस्थित गर्ने प्रयासमा छौँ । त्यो काम गर्दैछौँ त्यसमा म सन्तुष्ट छु । यो टिमले काम गर्नसक्छ भन्नेमा ढुक्क छौँ । ल्याण्डफिल साइट सबैभन्दा ठूलो विषय छ । १०० दिनमा हामी अण्डा बनाउने होइन चल्ला बनाउनेतिर यसको बेस बनाउनेतिर लागेका छौँ । आन्तरिक व्यवस्थालाई बलियो बनाउनेतिर लागेका छौँ ।’
उनले महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत नेपाल विधुत प्राधिकरण र पोखरा महागनरको (पचास-पचास प्रतिशत) १३ करोडको लागानीमा २३ वटा चोकहरुमा हाइ–मास्ट पोलमा १५ सय चार वटा सडक बत्ति जडन शुरु गरेको बताएका छन् ।
१०० दिनमा युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पुँजी भएको व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ । साविक लेखनाथ नगरपालिकाको तालचोक देखी बेगनासताल बसपार्कसम्कको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको बताएको छ ।
आगामी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी रहेकाले त्यो भन्दा पहिले अन्यन्त्र फोहोर व्यवस्थापन हुने महानगरको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology