देवदह । नेकपा (माओवादी केन्द्र) रुपन्देही क्षेत्र नं. १ ले आसन्न मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । आइतबार पार्टीको क्षेत्रीय कार्यालय देवदहमा सम्पन्न बैठकले संघ र प्रदेश दुबै तहको उम्मेदवार हुन इच्छुकको नाम सिफारिस गरिएको पार्टी नेता मोतिलाल ढकालले बताए ।
बैठकले प्रतिनिधिसभाका लागि पार्टीका स्थायी कमिटी सदस्य वामदेव क्षेत्री, केन्द्रिय सदस्य घनश्याम यादव र अर्का केन्द्रिय सदस्य मक्सुद अलिको नाम सिफारिस गरेको जनाईएको छ । सिफारिस गरिएका क्षेत्री लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष हुन् भने यादव २०६४ को संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित सांसद हुन् । मक्सुद अलि हाल क्षेत्र नं. १ को निर्वाचनका लागि प्रदेश कमिटीले तोकेका चुनावी कमान्डर हुन् ।
त्यसैगरी बैठकले क्षेत्र नं. १(१) का लागि दिपा विक, लेखनाथ न्यौपाने, गोविन्द पंगेनी, प्रमोद यादव, रामु साहनी र केदारनाथ काफ्लेको नाम सिफारिस गरेकोछ ।
साथै, क्षेत्र नं. १(२) का लागि वामदेव क्षेत्री, माधव बस्नेत र विजय यादवको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।
यद्यपि सत्तागठबन्धन कायम रहने केन्द्रिय नेताहरूले बताईरहेको अवस्थामा माओवादी केन्द्रले क्षेत्र नं. १ को प्रतिनिधिसभा र प्रदेश सभाका २ मध्य एक सिट नेपाली कांग्रेसलाई छोड्नुपर्ने हुन्छ । त्यसो भएको खण्डमा क्षेत्र नं. १(२) मा वामदेव क्षेत्रीको चुनावी भिडन्त एमाले नेता दधिराम न्यौपानेसंग हुने देखिन्छ । पुर्व माओवादी समेत रहेका न्यौपानेले सोही क्षेत्रबाट यस अघिको निर्वाचनमा माओवादी केद्रको चुनाव चिन्हबाट जित हासील गरेका थिए । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका न्यौपानेलाई उक्त क्षेत्रको उम्मेदवारमा एमालेले निर्विरोध सिफारिस गरिसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology