कपिलवस्तु । कोरोना संक्रमणको दोस्रो लहरका कारण संक्रमितको संख्यामा भएको उच्च वृद्धिसंगै बिरामीको उपचारका लागि रगतको अभाव भएपछि रगत ब्यबस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाज खटिएको छ । कोभिड संक्रमणको जोखिमका विच पनि स्वयंसेवीहरु फिल्डमै खटिएर रक्त संकलन गरिरहेका हुन् ।
जारी निषेधाज्ञा र रगतको अभाव बिच कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ ईमलिया स्थित ग्लोबल डेरी प्रालि का सञ्चालक र कर्मचारीले २० युनिट रक्तदान गरेका छन । डेरीको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहयोग रक्तदान सम्पन्न गरिएको हो ।
समाजका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीको नेतृत्वमा दुई जना प्राविधिक सहितको टोलीले कपिलवस्तुबाट रगत संकलन गरेको हो ।
जारी निषेधाज्ञा पछि पहिलो पटक समाजको टोलीले रुपन्देही जिल्ला बाहिर रक्तदान गराई रगत संकलन गरेको अध्यक्ष चौहानले बताए ।
कोरोनाको संक्रमणका बिच रक्तदाताहरुले रगत दिन नसक्ने अवस्था आउदाँ रगतको अभाव हुन थाले पछि आफु र डेरीमा कार्यरत कर्मचारीले रक्तदान गरेको डेरीका सञ्चालक थानेश्वर न्यौपानेले जानकारी दिए । “रगतको अभाव टार्न रक्तदान गरेका छौ ।
त्यसै गरि अति आवश्यक पर्ने बिरामीको उपचारका लागि सहयोग होला कि भनेर उद्योगमा रहेका तिन वटा खाली अक्सिजनको सिलिण्डर समेत उपलब्ध गराएका छौ ।” सञ्चालक न्यौपानेले भने ।
निषेधाज्ञा पश्चात समाजले रक्तदानको आयोजना गरि बुटवलमा दैनिक २५-३० युनिट रगत संकलन गर्दै आएको समाजका अध्यक्ष चौहान क्षेत्रिले जानकारी दिए । जारी निषेधाज्ञाका कारण पछिल्लो समय रगतको अभाव हुन थाले पछि दैनिक जसो ईमरजेन्सीमै रक्तदान गराईदै आएको उनले प्रष्ट पारे ।
समाजको नेतृत्वमा कोभिड संक्रमितका लागि आवश्यक पर्ने प्लाज्माको समेत व्यवस्थापन गरिदै आएको छ । “कोभिड संक्रमणमा परेकाको उपचारका लागि आवश्यक पर्ने प्लाज्मा चितवन र मकवानपुर सम्म पठाएका छौ ।” उनले भने । संक्रमणको बिच रगतको अभाव हुन नदिन स्वास्थ्य सर्तकतालाई मध्य नजर गरि सुरक्षाका साथ रक्तदान गरि दिन चौहानले रक्तदातालाई आग्रह गरे ।
टोलीले आईतबार रुपन्देहीको देवदहमा रगत संकलन गर्दैछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology