धुर्ब लामिछाने, देवदह । देवदहमा संचालित जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार पालिकाको वडा नं - २ को कार्यालय ढेकावरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख धुर्ब खरेलले कृषि बिना मानवीय जीवन उकास्न नसकिने बताउँदै कृषि क्षेत्र सबैका लागि निकै महत्पूर्ण क्षेत्र रहेको बताए। पछिल्लो समय कृषि क्षेत्रमा सम्बन्धित पक्षको ध्यान जान सकेको औल्याउँदै नगर प्रमुख खरेलले दूध, माछा, मासु स्वास्थ्य रूपमा उत्पादन गर्न सकियो भने दैनिक जीवन उकास्न सकिने बताए। 'कृषकको अभिन्न अंग कृषि क्षेत्र हो, यसलाई सहज तरिकाले लिनु पर्छ अनि बल्ल हामी यसबाट सफल हुन सक्छौ' खरेलले भने।
कार्यक्रममा बोल्दै उनले देवदह क्षेत्रमा उत्पादन भएका कृषिजन्य पदार्थको बजारीकरणका लागि नगरपालिकाले चिस्यान केन्द्रको निर्माण गर्ने समेत दाबी गरे।
नेपाल लाईभस्टक सेक्टर ईनोभेसनका डा. शिवराज भूषाल, देवदह नगरपालिका–२, का वडाअध्यक्ष दलबहादुर राकास्कोटीले आ - आफ्ना भनाई व्यक्त गरेका थिए। कार्यक्रममा कोषाध्यक्ष राजु रेग्मीले उपआयोजनाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जागेश्वर पंगेनीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वच्छ दुग्ध उत्पादक सहकारी उप आयोजनाले उन्नत जातका गाई तथा भैसी खरिद गरी दैनिक ३ सय ७५ लिटर दूध उत्पादन गर्दै आएको बताए। उपआयोजनामा अहिले सम्म करिव एक करोड ८३ लाख लगानी भईसकेको बताउँदै अबका दिनमा उप आयोजनाले थप गुणस्तर दुग्ध उत्पादन गर्ने बताउँदै उत्पादित दूधको उचित बजार व्यवस्थापन समेत गरिने बताए।
दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यको लगानी तथा राष्ट्रिय सहकारी बैंक बुटवलको ऋण लगानी र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाको पुरक अनुदानमा उपआयोजना निर्धारित कार्य सम्पन्न भएसँगै दुग्ध उत्पादक सहकारीले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
आयोजनाका संचालक सदस्य विक्रम पौडेलको स्वागत, पशु सेवा शाखाका हर्कबहादुर दानीको शुभकामना तथा व्यवस्थापक धनश्याम गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology