राजेश पराजुली पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पुर्याइएको थियो ।
राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी अनावरण गरेका थिए ।
त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता कराँतेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सहभागी थिए ।
उनीहरूलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्दै चार दशकपछि प्रतियिोगिता आयोजना गर्न पाउनु गण्डकीवासीका लागि गौरवको विषय भएको बताए । सोमबार खेलाडी, प्रशिक्षक, व्यवस्थापक खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफि प्रदर्शन गरिएको हो । 
ट्रफिसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारी साधन बाट नगर परिक्रमा गराइने कार्यक्रम पोखराको अम्मरसिंहचोक, रानीपौडा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोक भित्र बजार हुँदै वगर चोक, बागबजार चोक, ठाडा लाइन, पुरानो टुडिखेल, हरिचोक, विन्ध्यवासिनी मन्दिरको माथिल्लो बाट परिक्रमाको लागि प्रवेश गराई अधिकारी टोल चोक, पुरानो खानेपानी काउन्टर, वाग्लुङ राजमार्ग हुँदै जिरो किलोमिटर र त्यहाँबाट हल्लन चोक धार्मिक पर्यटकीय गन्तव्य फेवातालस्थित तालबाराही मन्दिरको परिक्रमा गराएर सुरक्षा निकायको जिम्मा लगाइएको छ ।
पोखराको तालबाराहीमा ट्रफीसहित ट्रफी टुरमा सहभागी राष्ट्रिय खेलाडीलाई महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गरे ।
चार दशकको अन्तरालपछि पोखरामा हुन लागेको नवौँं राष्ट्रिय खेलकुद समग्र पोखरेलीका लागि गर्वको विषय भएको महानगरप्रमुख आचार्यले बताए । यस राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि महानगरका तर्फबाट सक्दो सहयोग हुने उनले विश्वास दिलाए । नवौं राष्ट्रिय खेलकुदका अवसर पारेर मङ्गलबार वृहत् फेवाताल सरसफाइ अभियान सञ्चालन गर्न लागिएकोे पनि महानगरप्रमुख आचार्यले जानकारी दिए ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाईएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् । यस्तै ट्रफ्रीलाई श्याम तुलाधारले बनाएका हुन् ।
ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफि आफुसँग राख्न पाउनेछ ।
विसं २०३८ देखि शुरु राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशकपछि घरेलु मैदानमा खेल गराउने शौभाग्य पाएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताए । प्रतियोगिताअन्तर्गत विभिन्न ३६ खेल हुने भएका छन् ।
यही असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ ।
गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक खेल हुने छैनन् ।
खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नाष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ ।
पुरुष बाँस्केटबल पोखरामा र महिला बाँस्केटबल तनहुँमा हुने भएको छ । आर्चरी र फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ ।
पौडी पोखराको फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बागलुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ ।
नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । पूर्वाधार अभावका कारण सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।
यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी ‘नेशनल स्पोर्टस् काउन्सिल एप्स’ सञ्चालनमा ल्याएको छ । सो एप्सबाट खेलको तयारी, नतिजालगायत सबै विवरण जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि महिला क्रिकेट असोज २३ गतेदेखि पोखरामा सुरु भइसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology