काठमाडौं। दशैंअघि सेयर बजारमा फरर्किएको रौनक पुन: गुम्न थालेको छ। बजारको वृद्धिमा बाक्लिएको किनबेच परिसूचक घटेलगत्तै सुस्ताएको छ। दसैंअघि बजार बढ्दासमेत कारोबार रकम भने बढ्न सकेको थिएन।
सोमबारको फराकिलो गिरावटलाई बजारले मंगलबार पनि निरन्तरता दिएको छ। दशैंअघि महँगोमा किनेकाहरु दसैंपछि बजार घट्दा बेच्न राजी देखिएका छैनन्। सोमबार २७ अंक गुमाएको परिसूचक मंगलबार १६ अंक घट्यो।
'केहिअघि चर्को मूल्य हालेर सेयर किनिएको छ, सस्तोमा बेच्न लगानीको सिद्धान्तले दिँदैन,' बजारका एक सक्रिय कारोबारीले भने, 'त्यसैले अहिले बजारमा मोलतोल पुन: चर्किएको छ। मूल्यमा समझदारी नहुँदा कारोबार त ड्राइ हुन्छ नै।'
अघिकांश सेयरको मूल्य वर्षदिनयताकै सस्तो छ। तर यस्ता सेयरमा पनि चर्को मोलतोल हुँदा किनबेचलाई प्रत्यक्ष असर पुगेको छ। बढी मूल्यमा बिक्दै नबिक्ने भएपछि सस्तो मै फालेर उम्किन थालेको गुनासो कारोबारीहरुको हो। यसले गर्दा पनि परिसूचक केहि दबाबमा छ।
मंगलबार सेयर कारोबार ५५ करोड रुपैयाँमा सिमित छ। अघिल्लो दिन झन्डै एक अर्ब रुपैयाँको भएको थियो। पछिल्लो वृद्धिको नाफा बुक गर्न आतुर हुँदा कारोबार पनि ह्वात्तै बढेको थियो। तर लगत्तैको कारोबार आधा मात्र भयो।
१८ सय १० नजिकबाट बढ्न सुरु गरेको परिसूचकले १९ सय माथि पुगेको थियो। यस दौरान प्रमुख परिसूचक स्वयम ५ प्रतिशतभन्दा बढि बढ्यो। सूचकको वृद्धिले कारोबारीहरुको विशेष रुचिमा परेका सेयरको मूल्य उनीहरुहरुको सक्रियतामा १५ प्रतिशतसम्मको उछाल देखिएको थियो।
सर्ट टर्म ट्रेडर' हरुको लागि यो प्रोफिट बुकिङको उचित अवसर बनेको अनुभवीहरुको विश्लेषण छ। 'बजारको वृद्धि दिगो होइन। आधारभूत पक्षहरुमा अझै सुधार छैन,' ती जानकारले भने, 'यस्तो अवस्थामा अत्याधिक घटेको बजारमा सामान्य चढावहरु देखिनु आश्चर्य थिएन। बेलैमा नबेचे अस्वभाविक घाटा बेहोर्नु पर्ने हुनसक्छ। यो आम कारोबारीले बुझिसके' ती विश्लेषकले भने।
यस बिच दशैंका कारण प्रणालीमा पैसा बढेको थियो। लगानीकर्ता फेस्टिभ मुडमा जाँदा सहभागिता घटेर पनि सूचक उक्लिएको थियो। निजी क्षेत्र सहित आम सर्वसाधरणको पनि खर्च बढेको थियो। प्रणालीमा रमक फर्किए लगत्तै बजारमा केहि सुधार पनि देखिएको थियो। तर दरिलो कारणको अभावमा वृद्धिले अनुमानित गति नलिएको उनी बताउँछन्।
सो वृद्धिमा पनि कारोबारले परिसूचकलाई सघाएको थिएन। केहि ट्रेडरहरुको सक्रियता मात्र थियो भने बारोबारमा चमक सायदै अनुभव गरियो। वृद्धिको सदुपयोग सिमित वर्गले मात्र गर्दा कारोबारमा सो समय पनि उत्साह थिएन।
यसबिच बजारमा तरलताको चरम अभाव कायमै छ। बैंकहरुमा निक्षेप खोसाखोस सुरु भइसकेको हो। साधारण मुद्दतीको ब्याजदर दोहोरो अंक माथि छ। विशेष खालका मुद्दतीमा कतिपय वाणिज्य बैंकहरुले १५ प्रतिशत माथि दिन थालिसकेका छन्। दिनहु सेयर बजारको जोखिममा लागनी गर्ने कि सुरक्षित मुद्दतीको ब्याज खाने अन्योल छ।
तर चुनाव नजिकिएको छ। यसले सेयर बजारलाई माथि धकेल्ने विश्लेषण समेत सुरु भइसकेको हो। सरकार र निजी क्षेत्रको खर्चले चुनाव नजिकिँदा तिव्रता पाउँछ। प्रणालीमा पैसा पुन: पुग्ने र आर्थिक कृयाकलापमा मद्दत पुर्याउँने विश्लेषण छ। यसबिच सेयर बजारमा पनि केहि रकम भित्रिने हुँदा निर्वाचनलाई सकारात्मक संकेतका रुपमा लिने गरिन्छ। तर तमाम विश्लेषणका बीच लगानीकर्ता खासै उत्साहित हुन सकेका छैनन्।
बैंकको ब्याज र तरलतामै बजारको भविष्य निर्भर भएकाले कात्तिक १ मा बैंकहरुले ब्याज के गर्छन् भनेर लगानीकर्ता पर्खिएर बसेको देखिन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology