काठमाडौं । सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरूङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।
आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय बदर गर्न माग गर्दै रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङले दिएको रिटमा उक्त इजलासले दुबै पक्षको छलफल लागि कात्तिक २ गते डाकेको छ। विपक्षीहरूलाई निर्णयसहितका फाइल लिएर आउन पनि अदालतले भनेको छ। दुबै पक्षको बहस सुनेपछिमात्र यो आदेश निरन्तर हुने वा नहुने अर्को आदेश गर्नेछ।
उक्त क्षेत्रका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए।
गुरूङले भने आयोगको निर्णय नमिलेको भन्दै त्यसलाई बदर गर्न माग गरेका हुन्।
आफूलाई गरिएको जरिवाना तिरेको, मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन कार्यालयले आफूलाई सुनुवाइको मौकासमेत नदिई उम्मेदवारी खारेज गर्ने निर्णय नमिलेको भन्दै गुरूङ सर्वोच्च अदालत गएका हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology