Logo

२०८३, श्रावण ३०गते


images
images

महिलालाई निःशुल्क सिलाई कटाई तालिम

महिलालाई निःशुल्क सिलाई कटाई तालिम

images
  • महिलालाई निःशुल्क सिलाई कटाई तालिम
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ नयाँ गाउँमा अवस्थित सहयोगी संस्था ’ग्लो संस्था’ ले विभिन्न २० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाईको तालिम प्रदान गरिरहेको छ। विगत लामो समयदेखि पोखरामा रहेर शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, प्राविधिक तथा कृषि लगायतका क्षेत्रमा सहयोगीको भूमिका खेल्दै आइरहेको ’ग्लो संस्था’ ले हाल वडा कार्यालय १५ को समन्वयमा २० जना महिला दिदीबहिनीका लागि निःशुल्क सिलाई कटाईको तालिम सञ्चालन गरेको हो।

    images
    images
    images

    तालिममा एकल महिला, अपाङ्ग महिला लगायत विभिन्न समस्यामा परेका महिलाहरू सहभागी छन्।

    images
    images
    images

    संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले तालिमका लागि वडाबाट २२ जना महिला दिदीबहिनी सिफारिस भएपनि स्वास्थ्यका कारणले हाल २० जना मात्र तालिममा सहभागी भइरहेको बताइन्।

    images
    images
    images

    उनका अनुसार पहिले–पहिले सिलाई कटाईलाई जातियताका आधारमा हेर्ने गरिएपनि समाजमा सीपको महत्त्वले स्थान पाउँदै गएपछि अचेल सिलाई सम्बन्धी तालिम लिनका लागि धेरैले रूची राख्ने गरेको उनको अनुभव छ । घर बाहिर सीप सिक्नका लागि महिलाका लागि पारिवारिक तथा सामाजिक अनुकूलता नरहेपनि पछिल्लो समय सीपको महत्त्व बुझेर महिला दिदी बहिनीहरू तालिमका लागि आउँदा खुसी लाग्ने गरेको उनी बताउँछिन्।

    बुटवलबाट खुट्टाको उपचार गर्न पोखरा आएकी धनमाया स्याङतान पोखरा बसाईको क्रममै निःशुल्क सिलाई कटाई तालिमको कुरा सुनेपछि वडा कार्यालयको सिफारिस लिएर यहाँ आएको बताइन्। खुट्टा गुमाउनु पर्दाको पीडा र कमजोर आर्थिक अवस्थाका कारण जीवन रित्तिएको महसुस गर्दै कहिलेकाहीँ त आत्महत्याको प्रयास समेत गर्ने गरेको बताउने उनी यस संस्थामा आएपछि सीपसँगै व्यवहारिक शिक्षा पनि सिकेको बताउँछिन् ।संस्थाकी आमाको व्यवहारिक शिक्षाले आफूलाई ऊर्जा मिलेको भन्दै उनले यहाँ सिकेको सीपले धेरै आत्मविश्वास बढेको बताउँछिन्।

    यस्तै पोखराको फलेपाटनमा बस्दै आएकी एकल महिला रोशनी लामा घरहरुमा रङ लगाउने काम गर्छिन्। कमाएर दिने मान्छे नभएपछि जीवन यापनका लागि सीप सिकेर आत्मनिर्भर बन्ने लक्षका साथ वडा मार्फत संस्थामा सिलाईको तालिम लिन आएकी लामा अहिलेसम्म २० प्रकारका सिलाई कटाई सम्बन्धी सीप सिकिसकेको बताउँछिन्। सुरुका दिनमा मेसिन समेत चलाउन नजानेको क्षण सम्झँदै उनले अहिले आफ्ना लागि आफै विभिन्न डिजाइनका कपडा सिलाउन सक्ने भएको प्रतिक्रिया दिइन्।

    संस्थाले दिएको सीप र व्यवहारिक ज्ञानले छिट्टै स्वरोजगार बनेर सहज जीवन यापनका साथै आफ्नो १४ वर्षीय छोरालाई पढाउन सक्छु भन्ने आत्मविश्वास र हौसला मिलेको लामाको भनाई छ।

    कमजोर आर्थिक अवस्थाकै कारण प्लस टु सकेर पढ्ने इच्छालाई जबरजस्ती बिट मार्न बाध्य जोया नेपाली गएको ५ वर्ष न सीप न पढाई घरमा यत्तिकै बस्नुपरेको पीडा पोख्छिन्।समाजमा विद्यमान लैङ्गिक भेदभावबारे असन्तुष्टि जनाउने जोया महिलालाई घरायसी कामकाजमा मात्र सीमित राख्न खोजिने र उनीहरूको इच्छा आकाङ्क्षालाई परिवार र समाजले कहिले पनि बुझ्न नचाहेको आरोप लगाउँछिन्।तर, अहिले सीप सिकेपछि आफ्नो धारणा नै परिवर्तन भएको भन्दै जागिर भन्दा सीप स्थायी हुने र आफ्नो क्षमता अनुरूपको व्यवसाय सुरु गर्ने सोचमा रहेको उनी बताउँछिन्।

    अवसरबाट बंचित भएका महिला दिदी बहिनीहरूको आफ्नै लगन र परिश्रमले छोटो समयमै यस संस्थामा आएर बजारका नयाँ–नयाँ फेसन अनुसारका डिजाइनहरू तयार गर्न सक्ने भइसक्नु भएको सिलाई कटाई तालिमकी प्रशिक्षक उषा नेपाली बताउँछिन्। समाजमा विभिन्न कारणले पिछडिएका महिलाका लागि यस संस्थाले विगतदेखि नै यस्ता आय आर्जनको तालिमहरू सञ्चालन गर्दै आइरहेकोमा यहाँ सिकेको सीपले आर्थिक रूपमा मात्र नभएर एउटा असल नागरिक बनाउनमा पनि संस्थाले भूमिका खेलेको उनको धारणा छ।

    ग्लो संस्थाले दिएको तालिमका लागि वडामा बसोबास गरिरहेका आर्थिक रूपले विपन्न, एकल तथा अपाङ्ग महिलाहरूलाई सिफारिस गरिएको वडा कार्यालय पोखरा –१५ का सचिव प्रमोद कुमार गुरुङ बताउँछन्। वडामा रहेका अन्य संस्थाहरूसँग समन्वय र सहकार्य मार्फत आगामी दिनमा पनि लक्षित वर्गका लागि आर्थिक उपार्जन र व्यावसायिक सिपको तालिमका लागि कार्यक्रमहरू विनियोजन गरिएको उनको भनाई छ ।

    गत वैशाखको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आइसकेपछि अबको विकास पूर्वाधारमा मात्र नभएर मानवीय विकासका लागि हुनुपर्छ भनेर वडाले चालेको र वडाले बनाएको योजनालाई सफल तुल्याउनका लागि यस संस्थाबाट सहयोग मिलेको र सोही अनुसार महिला दिदीबहिनीको लागि कार्यक्रम गर्ने चाहाना अनुरूप सिलाई कटाई तालिम सञ्चालन गरिएको बताउँछन् वडा नं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँ।

    तालिममा सहभागी महिला दिदीबहिनीहरूले छोटो समयमै सीप हासिल गरेको र अब सिकेको सीपलाई भरपुर प्रयोग गरेर व्यवहार उतार्नपर्छ, उद्यमी बन्नुपर्छ र आय आर्जनमा जोडिनुपर्छ भनेर हौसला दिइरहेको उनी बताउँछन्।

    वडा नं १५ लाई उद्यमशीलतामा जोड्नपर्छ, स्वरोजगारको सृजना गर्नुपर्छ भन्ने उद्देश्यले वडाले यस्ता कार्यक्रमहरू ल्याइरहँदा ग्लो संस्थाले स्थानीय सरकारले गर्नुपर्ने काममा अग्रसरता लिइरहेकोप्रति अध्यक्ष बानियाँले संस्थालाई धन्यवाद दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।