राजेश पराजुली, पोखरा । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा विभिन्न राजनैतिक पार्टीका उम्मेदवारले प्राप्त उपलब्धिको रक्षा र समृद्धिको अभियानमा जुट्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । पोलिटिकल साइन्स सोसाइटी नेपालद्वारा आज पोखरामा आयोजित सङ्घीय तथा प्रदेशसभा सदस्यका उम्मेदवारसँग तपाईँको उम्मेदवारी किन भन्ने बहस कार्यक्रममा उनीहरुले समाजका पिछडिएको वर्गको उत्थानका लागि समृद्धि आन्दोलनको खाँचो औंल्याए ।
कास्कीको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि ऊर्जा लगायतका विविध क्षेत्रको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्रियाकलापमा युवा शक्तिको आकर्षण बढाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा सबैको एउटै स्वर थियो ।
मुलुकको मुख्य शत्रुका रुपमा जरा गाढेको गरिबी र भ्रष्टाचार अन्त्य गरी सुशासनयुक्त समुन्नत समाज निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै उनीहरुले त्यसका लागि राजनैतिक पार्टीसँगै देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।
यस क्षेत्रका तालतलैया, धार्मिक, सांस्कृतिक, पर्यावणीय सम्पदाको संरक्षण गर्दै आवश्यक पूर्वाधार विकास गरी पर्यटन प्रवर्द्धनमा लाग्नुको विकल्प नभएको उल्लेख गर्दै वक्ताहरुले त्यसका लागि पार्टीका घोषणापत्रलाई मुख्य आधार बनाएर अगाडि बढेने सामूहिक धारणा राखे ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धन बनेको बताए । सत्तामा पुग्नेको होइन जनताका आधारभूत आवश्यकतामा परिवर्तन आउनुपर्नेमा उनको जोड थियो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं १ (१) का उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै उनले विमानस्थल निर्माणमा चिनियाँ सरकारको ऋण सहयोगलाई अनुदानमा परिणत गर्नेतर्फ लाग्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस कास्कीका सभापति तथा कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा गठबन्धनतर्पmका उम्मेदवार किशोरदत्त बरालले मुलुकको दिगो विकासका लागि राष्ट्रिय स्रोतको परिचालन अपरिहार्य भएको बताउँदै राजनैतिक शुद्धता, संसद् र सांसदको मर्यादाका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा गठबन्धनका साझा उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ बरालले पाँच दलीय घोषापत्रलाई आधार बनाएर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जुट्ने प्रतिबद्धता जनाए ।
एमाले कास्कीका अध्यक्ष तथा कास्की १ का प्रतिनिधिसभाका उम्मेदवार मनबहादुर गुरुङले मानवीय स्रोतको अधिकतम् उपयोग गर्दै समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन आफ्नो उम्मेदवारी भएको बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा गठबन्धनकातर्फबाट कास्की १ (१) का उम्मेदवार दीपक कोइरालाले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषिलाई आधुनिकरण गरिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट कास्की २ बाट प्रतिनिधिसभाका उम्मेदवार माधवप्रसाद कँडेलले मुलुकको आवश्यकता र युवा शक्तिको भावनालाई मध्येजन गर्दै भ्रष्टाचार न्यूनीकरणका लागि आफ्नो उम्मेदवार भएको धारणा राखे ।
राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले राजनैतिक पेशाका रुपमा नभई सेवाका लागि हुनुपर्नेमा जोड दिँदै मुलुकको समृद्धिका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्ने आवश्यकता औँल्याए ।
सोसाइटीका अध्यक्ष सुभास ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं ३ एमालेका दामोदर पौडेल वैरागी, राप्रपाका जगतप्रसाद सुवेदी, गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं २ (१) का माओवादीका उम्मेदवार विश्वप्रकाश लामिछाने, एमालेका भीमबहादुर कार्की, निर्वाचन क्षेत्र नं २ (२) का एमाले उम्मेदवार मीना गुरुङ क्षेत्र नं ३ (१) का गणेशमान गुरुङ, (२) का राजिव पहारी, राप्रपाका हरिराम भण्डारी, राप्रपाका सुवर्णराज पन्त लगायतका उम्मेदवारहरुले पार्टीको घोषणापत्रअनुसार नै विकास निर्माणमा जुट्ने प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology