कृष्ण अन्जान, गुल्मी । आसन्न संघीय र प्रदेश निर्वाचनका लागि नेकपा एमाले गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका एमाले नेता प्रदिपकुमार ज्ञवालीले प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छन् । तम्घासमा बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै एमालेका उपमहासचिव ज्ञवालीले साना भौतिक पुर्वाधारलाई अबका दुईवर्ष भित्र पूरा गरिने र ठुला विकास आयाेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिबद्धता पत्रमा भनिएको छ, "यही पार्टी हो, जसले संविधानको पूर्ण कार्यान्वयन, तीनै तहका सरकारलार्ई चलायमान बनाउँदै सङ्घीयता सुदृढ, सिके राउत समूहले सञ्चालन गरेको पृथकतावादी र विप्लव समूहले चलाइरहेको हिंसात्मक क्रियाकलापलाई अन्त्य गर्दै मुलुकलाई द्वन्द्वमुक्त, नेपाललाई अल्पविकसित अवस्थाबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्यो ।"
कोभिड महामारी अगाडिसम्म नेपाल तीब्र आर्थिक बृद्धि गरिरहेका दस मुलुकमध्ये रहेकाे त यस अवधिमा ९ लाखभन्दा बढी नागरिक निरपेक्ष गरिवीबाट माथि उठेकाे , नेपालले लगानी र व्यवसायिक वातावरण मापन गर्ने सूचकाङ्क लगायत शान्ति, खुसियाली, भोकमरी विरुद्ध लैंगिक समानता, सुशासन, मानव विकास लगायत सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएकाे कुरा प्रतिबद्धता पत्रमा समेटिएको छ ।
एमालेकै नेतृत्वमा नेपालको राष्ट्रियता सुदृढ बनेकाे , नेपालको स्वाभिमान माथि उठेकाे बाह्य सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल भएका नेपालले चीनका चारवटा समुद्री बन्दरगाहको उपयोग गर्न पाउने सुनिश्चित भएसँगै पारवहनमा एकपक्षीय निर्भरता र नाकाबन्दीको जोखिम सदाका लागि अन्त्य भएकाे कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत मिलाएर नेपालले आफ्नो नयाँ नक्सा प्रकाशन गरेर नेकपा (एमाले) ले देशकै नक्सा बदलेकाे पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस अवधिमा भौतिक विकासमा ठूलो फड्को मारेकाे , प्रतिदिन सरदर ५ कि.मि. बाटो कालोपत्रे गर्दै यस अवधिमा हजारौँ किलोमिटर बाटो पक्की गर्ने, ग्राभेल गर्ने र नयाँ खन्ने काम भएकाे यसै अवधिमा नेपाल सुरुङ मार्गको चरणमा प्रवेश गरेकाे भूकम्पपछिको पुनर्निर्माणमा अकल्पनीय फड्को मार्दै ८ लाख नागरिकलाई सुरक्षित आवासमा फर्काउने काम भएको , धरहरा, रानीपोखरी, दरबार हाइस्कूल, सिंहदरबारलगायत सम्पदा पुनर्निर्माण भएका र तराई मधेस समृद्धिको गेम चेन्जरको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सनको काम शुभारम्भ भएको छ भने राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको पानी काठमाडौँ खसाउने काम भएकाे भनिएकाे छ ।
राष्ट्रिय स्तरमा भएका यी कामहरूका साथै यहाँहरूको विश्वासलाई शिरमा राखेर काम गर्ने क्रममा विगत पाँच वर्षमा एमालेले गुल्मीकोे सामाजिक–आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्ने गरी काम गरेकाे उल्लेख गर्दै रेसुङ्गा नगरपालिकामा– सडक तथा पुल रु.५२ करोड ६० लाख, खानेपानी रु.४४ करोड १५ लाख र पर्यटन पूर्वाधार विकास रु.१२ करोड ५० लाख, गुल्मी दरबार गाउँपालिकामा– सडक तथा पुल रु.५८ करोड ८० लाख, खानेपानी रु.२२ करोड ५ लाख र पर्यटन पूर्वाधार विकास रु.१ करोड ५५ लाख, छत्रकोट गाउपालिकामा– सडक तथा पुल रु.२६ करोड, खानेपानी रु.३७ करोड १० लाख र पर्यटन तथा पूर्वाधार विकास रु.२ करोड ५० लाख, रुरुक्षेत्र गाउपालिकामा–सडक तथा पुल रु.४१ करोड, खानेपानी रु.२३ करोड ५५ लाख र पर्यटन पूर्वाधार विकासको लागि रु.६० करोड ६१ लाख, सत्यवती गाउपालिकामा– सडक तथा पुल रु.८३ करोड ५० लाख, खानेपानी रु.१५ करोड ५० लाख, र पर्यटन पूर्वाधार विकास रु.४ करोड ३९ लाख,कालिगण्डकी गाउँपालिकामा सडक र पुलमा ३५ कराेड ५० लाख ,खानेपानीमा १० कराेड १५ लाख ,पर्यटन पुर्वाधारमा १ कराेड ५० लाख ,यसैगरी चन्द्रकाेट गाउँपालिकामा सडक तथा पुलमा ४३ कराेड २६ लाख ,खानेपानीमा १२ कराेड ६० लाख ,पर्यटन पुर्वाधारमा ५५ लाखका याेजनाहरु सम्पन्न भएकाे प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी आगामी दिनहरूमा यातायात पुर्वाधार ,सामाजिक विकास, खानेपानी सिँचाई विद्युत, कृषि, उद्योग, पर्यटन, युवा स्वराेजगार र खेलकुदका क्षेत्रमा विशेष याेजनाहरु सन्चालन गर्ने र विभिन्न नगर तथा गाउँपालिकाका ठुला याेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने जनाईएकाे छ ।
गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा एमालेका तर्फबाट पार्टीका केन्द्रीय उपमहासचिव, पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रतिनिधि सभा तथा प्रदेशसभा १(१) तर्फ चिन्तामणि पाण्डे र १(२) तर्फ फर्सुराम पाण्डे चुनावी मैदानमा छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology