बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराएका छन् ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेले एमालेका खड्कालाई हराएका हुन । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो ।
पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मतका साथ विजयी भएको बताइएको छ । उता खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन ।
निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको थियो । जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबराले चुनाव बहिष्कार गरेका थिए भने अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौँमा रहेकाले मतदान गर्न गएका थिएनन् ।
राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology