काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गतको त्रिदेशीय ओडीआई सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाइ ३ विकेटले हराउदै सनसनीपूर्ण जित निकालेको छ।
शुक्रबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ बनाएर नेपाललाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो ।
१८० रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो लक्ष्य २ ओभर बांकी छंदै ७ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेख अन्तिमसम्म क्रिजमा टिकेर नेपालका लागि महत्त्वपूर्ण जित दिलाएका छन् । उनले १३० बलमा अविजित ८६ रन बनाए । सन्दीप लामिछानेले आसिफसंग महत्त्वपूर्ण साझेदारी गरे उनले ३५ रन बनाए । आजको खेलमा नेपाललाई जिताउन आसिफ र सन्दीपको विशेष योगदान रह्यो । अन्य ब्याट्सम्यान जमेर खेल्न सकेनन ।
ब्याटिङको सुरुवाती चरणमा खराब खेल प्रदर्शन गरेको नेपालले विकेट पतनसँगै खेल सुधार गरेको थियो । कुशल मल्लले २३ , भीम सार्की र दीपेन्द्रसिंह ऐरीले समान ८-८ रन जोडे । ज्ञानेन्द्र मल्ल ६ रनमा पभिलियन फर्किँदा कप्तान रोहित पौडेल र आरिफ शेख १-१ रनमा आउट भएका थिए । कुशल भुर्तेल भने खाता नै नखोली पभिलियन फर्किएका थिए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १-१ विकेट लिएका थिए ।
अब नेपालले सिरिजको अन्तिम खेल पपुवा न्युगिनीसँग २२ फागुनमा खेल्नेछ । यो जितसँगै छैटौँ स्थानमा रहेको नेपालले ३१ खेलबाट ३० अंक बनाएको छ । लिग टु को पुछारमा रहेको पपुवा न्युगिनीको ३१ खेलबाट ७ अंक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology