देवदह । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पस कमिटीले स्ववियू निर्वाचन हुन नदिने नियतले क्याम्पसमा ताला लगाईएको आरोप लगाएको छ। आइतबार क्याम्पस गेटमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुका जिल्ला सह-सचिव अर्जुन गैरेले अनेरास्ववियुले निर्वाचन आचारसंहिता उल्लङ्घन नगरेको तर निर्वाचनमा पराजित हुने भयले अन्य संगठनले क्याम्पसमा ताला लगाएको दावी गरे।
त्रिभुवन विश्वविद्यालय र क्याम्पसमा क्रियाशील विद्यार्थीहरूको सहमतिमा निर्माण गरिएको आचारसंहितामा आफूहरू अडिग रहेको स्पष्ट पार्दै गैरेले अनेरास्ववियुले निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै समयमा स्ववियु निर्वाचन होस् भन्ने चाहेको र त्यसको लागि जस्तोसुकै चुनौती सामना गर्न तयार गरिएको बताए।
शुक्रबार अनेरास्ववियुले क्याम्पसमा आयोजना गरेको स्वागत कार्यक्रममा टेन्ट र माइकको प्रयोग गरि निर्वाचन आचारसंहिता विपरित भड्किलो कार्यक्रम गरेको, अनेरास्ववियुका केहि नेताले विद्यार्थीलाई हातपात गरेको र त्यसलाई रोक्न क्याम्पस प्रशासन र निर्वाचन अधिकृत विफल भएको आरोप सहित क्याम्पसमा विधिवत दर्ता भएका अनेरास्ववियुसहित चार संगठनमध्ये तीन संगठनहरू अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूले सोहि दिनदेखि क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन्।
अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पसको प्रेस विज्ञप्ति (जस्ताको तस्तै):
प्रेस विज्ञप्ति
मितिः २०७८/११/२१
विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियुले स्थापना कालदेखी नै विद्यार्थीको हक, अधिकार रक्षाका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेको कुरा सर्वविदितै छ । राज्यका दमनदेखी लिएर शैक्षिक आन्दोलनमा गौरवशाली अनेरास्ववियुको सक्रिय भुमिकाबाट प्रभावित भएर बौद्धिक विद्यार्थीहरुको ठूलो समुह अनेरास्ववियुको झण्डामुनी गोलबन्ध भएर अनेरास्ववियुको गौरवलाई उच्च बनाउन सहयोग गर्नुहुने सम्पुर्ण विद्यार्थीहरुप्रती हाम्रो संगठनले हार्दिक आभार व्यक्त गर्दछ । २०६५ सालमा स्थापना भएको देवदह आदर्श बहुमुखी क्याम्पसमा स्थापना कालदेखि आजसम्म अनेरास्ववियुले सक्रिय रुपमा विद्यार्थीहरुको हक अधिकार र क्याम्पस प्रतिको आफ्नो दायित्वलाई कुशलतापुर्वक निर्वाह गरेको कुरा क्याम्पस परिवार, विद्यार्थी र यो समाजलाई अवगत नै छ । यहाँका शिक्षाप्रेमी व्यक्तिहरुको अथक मेहनत र प्रयासवाट स्थापित यस संस्थाका लागी योगदान पुऱ्याउनुहुने सम्पुर्ण अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । क्याम्पसको विषयमा अनेरास्ववियु कहिले पनि प्रतिपक्षको भुमिकामा नरहेको र राजनितिक गतिविधि भन्दा शैक्षिक गतिविधिमा सदैव जोडबल गरेको कुरा घाम जस्तै छर्लङ्ग छ ।
विशेषगरी त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरे पश्चात क्याम्पसमा गठित स्ववियु निर्वाचन समितीले आवहान गरेको विद्यार्थी संगठनहरुविचको बैठकले फागुन १९ गते सम्म विद्यार्थी संगठनहरुले आफ्ना गतिविधीहरु गर्न पाउने आपसि समझदारी अनुसार सवै विद्यार्थी संगठनहरुले आ-आफ्ना गतिविधिहरु गरिरहेका थिए । सोही अनुसार अनेरास्ववियुले फागुन १९ गते आफ्नो नियमित कार्यक्रम अनुसार नवअनगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । अनेरास्ववियुको कार्यक्रममा विद्यार्थीहरुको आकर्षण देखेर हायलकायल भएका अन्य विद्यार्थी संगठनहरुले अनेरास्ववियुको कार्यक्रमलाई विथोल्ने अथक प्रयास गर्दा गर्दै पनि अनेरास्ववियुको कार्यक्रम औपचारिक रुपमा सम्पन्न भयो । औपचारिक कार्यक्रम सकिए पछि क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले स्वत स्फुर्त रुपमा प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम अगाडी वढेको थियो । उक्त कार्यक्रमलाई विभिन्न विद्यार्थी संगठनका रुपमा आएका अराजक तत्वहरुले विथोल्ने चेष्ठा गरेपछी केहि समय मुडभेडको अवस्था समेत सिर्जना भएको थियो ।
अनेरास्ववियुको क्याम्पस प्रतिको सकारात्मक भुमिकावाट अतालियर स्ववियु निर्वाचनको मिति घोषणा पछी विशुद्ध राजनिती गर्न क्याम्पस प्रवेश गरेका नवआगन्तुक गैरविद्यार्थीहरुले विद्यार्थीको प्रतिनिधि संगठन र विद्यार्थीहरुको आफ्नो कार्यक्रममा धावा बोलेको कुरा अनेरास्ववियुलाई स्विकार्य छैन । पछिल्लो समयमा विकसित अशैक्षिक घटनाक्रमबारे सम्पुर्ण विद्यार्थी अभिभावक र देवदहं आदर्श बहुमुखी क्याम्पसको भलो चाहने शुभचिन्तकहरुमा जानकारी गराउन चाहान्छौं । विद्यार्थीहरुको भावना र अनेरास्ववियुको प्रतिष्ठा माथि आईलाग्दा अनेरास्ववियु मुकदर्शक भएर बस्न नसकेको र विद्यार्थीहरुको आत्मसम्मान बचाउन र अनेरास्ववियुको गरिमाको आत्मरक्षा गर्न आईलाग्ने माथी जाईलाग्दा उत्पन्न परिस्थितीको सम्पुर्ण जिम्मा लिन अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पस कमिटी तयार रहेको र भोलिका दिनमा पनि शैक्षिक गतिविधि खल्बल्याउने गैरविद्यार्थी क्याम्पस प्रवेश गराएर विद्यार्थीहरुको मनोबल गिराउने कुचेष्ठा भएमा त्यस्ता गतिविधिको विरुद्धमा अनेरास्ववियु विद्यार्थीको साथमा रहने र सदैव प्रतिकारमा उत्रिने जानकारी गराउन चाहान्छौं । क्याम्पस र विद्यार्थीहरु सँग सम्बन्धित कुराहरुमा विभिन्न पार्टी र तिनका नेताहरु प्रवेश गरि अनावश्यक रुपमा क्याम्पस भित्रको सद्भाव खल्बल्याउने गरि गरिएको नाङ्गो नाच अनेरास्ववियुलाई किमार्थ स्वीकार्य हुदैन ।
साथै स्ववियु निर्वाचनको तालिका सार्वजनिक भएपछी क्याम्पस प्रशासनमा तालावन्दी गरिनु आचारसंहिता विपरित हो । निर्वाचनसंग अतालिएर निर्वाचन नगराउने प्रपन्चका साथ विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पस प्रसाशनमा लगाएको तालाबन्दी तत्काल खोली निर्धारित समयमा स्वच्छ र निष्पक्ष तरिकाले स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासन समक्ष जोडदार माग गर्दछौं ।
हार्दिक अभिवादन सहित धन्यवाद ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology