देवदह । साना किसान कृषि सहकारी संस्था देवदहको २३ औं बार्षिक साधारण सभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः टिका न्यौपानेको अध्यक्षतामा संचालक समिति निर्वाचन गरेको छ । जसको उपाध्यक्षमा ख्यामनारायण ढकाल, सदस्यहरुमा नविन न्यौपाने, सरस्वती पोखरेल, अमरबहादुर थापा, लक्ष्मी कडेल, दिलबहादुर थापा, अजयकुमार रौनियार, निरमाया आर्चाय रहेका छन् ।
अधिवेशनले कल्पना सुवेदीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । जसको सदस्यमा दुर्गानारायण डुम्रे, दिवाकर अधिकारी रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले आमनागरिकको आर्थिक विकास विना समृद्धि असम्भव रहेको बताए । समृद्धि राष्ट्र निर्माणको लागि सम्पूर्ण नागरिकहरु उत्पादन संग जोडिन आवश्यक रहेको औंल्याए ।
नगर प्रमुख खरेलले समाजमा रहेका साना साना पुजीलाई सहकारी मार्फत एकिकृत गरी उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । सहकारीको माध्यमबाट कृषिको विकासले मात्र उत्पादन बृद्धि गर्न सकिनेमा जोड दिंदै उनले कृषिको विकासको लागि तिनै तहका सरकार जिम्मेवार भएर लाग्न सकेमात्र उत्पादन बृद्धिसंगै आर्थिक विकास हुने बताए । देवदहलाई कृषि र दुधमा आत्मनिर्भर बनाउने गरी नगरपालिका लागिरहेको दावी गर्दै उनले कृषि देवदह विकासको आधार भएको बताए ।
साना किसान कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक रामप्रसाद रेग्मी, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचन, साना किसान विकास लद्यु वित्त वित्तिय संस्था ईलाका कार्यालय बुटवलका गणेशप्रसाद भट्टराई, नेपाल लाईभ स्टक ईन्नोभेसन सेक्टरका डा. गान्धीराज उपाध्याय, कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने, शेयर सदस्य गीरप्रसाद पाण्डे, लक्ष्मी खनाल लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन र लेखा सदस्य श्याम थापाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट कृषक, महिला उद्यमी, विद्यार्थी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट वाल बचतकर्ता, उत्कृष्ट समुह, उत्कृष्ट शेयर सदस्यलाई नगद सहित सम्मान गरिएको थियो ।
सोही अवसरमा देवदह साप्ताहिकका प्रकाशक तिलोचन दहाललाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष अजयकुमार रौनियारको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology