काठमाडौ । एसीसी प्रिमियर कप अन्तर्गत कतार बिरुद्ध खराब ब्याटिङ गरेको नेपालले बलर चम्किदा ६८ रनको शानदार जित निकाल्दै समूह बिजेता बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहिवार भएको खेलमा सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो। जम्मा २५.१ ओभर खेलेको कतार सन्दीप लामिछानेले पाँच विकेट लिएपछि ८९ रनमै अलआउट हुन पुग्यो ।
कतारलाई अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले नटआउट ४२, कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११-११ रन त्यस्तै गुल्सन झाले ७, भीम सार्कीले ६, कुशल मल्लले ३, कुशल भुर्तेलले २ र ललित राजवंशीले १ रन बनाएका थिए ।
समूह ए बाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल आज कतारविरुद्ध जित निकाल्दै समूह विजेता बनेको हो । नेपालले खेलेका ४ मध्ये ३ खेलमा जित निकालेको छ भने एक खेल वर्षाको कारण अवरुद्ध हुँदा साउदी अरेबियासँग अंक बाँडेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology