"बगिरहेको खोलामा पानी त जो कोहीले देखिरहन्छ तर त्यो खोलामा बिजुली र त्यसबाट चल्ने इन्धनहरुको कल्पना एक शिक्षित व्यक्तिले मात्र गर्न सक्छ।" करिब चार कक्षादेखि यही कुरा बारम्बार निबन्धमा पढ्दै आयौँ तर जब त्यो पढाईलाई सदुपयोग गर्ने समय आयो सीप खै कहाँ कहाँ ...
हिजो धेरैपछि मामाको छोरालाई होमवर्क गराउदै थिएँ। उसले केही गल्तीहरु गरेको थियो। मैले सच्याउन खोजिरहेँ। उसले मैले नदेख्ने गरि मेटाउदै फेरि उहीँ गल्ती दोहोराइरहेकाे रहेछ। एकपटक उसले मेट्दै गरेको पनि देखेँ।
" बाबू यो त गलत हो। यो किन लेखिरहेको? मैले सहि उत्तर भनिदिएकी छु त।"
"अँ....., हजुरले भनेर हुन्छ क्याओ? उहाँ टिचरले हिजो मैले यहि लेखेको बेलामा सहि छ भनेर स्टार दिनुभएको छ।"
"खै कहाँ ?"
"यहाँ ।" उसले पाना पल्टाउदै देखायो।
अनि सुरुदेखि अन्त्यसम्म उसको कापी पल्टाएर हेरेँ। नभन्दै धेरै ठाउँमा त्यसरी नै गल्ती नसच्चाई कापी चेक भइरहेको रहेछ। त्यो बिषयमात्रै होइन अनेक बिषयमा पनि त्यसता अनेक गल्तीहरु सामान्य रूपमा देखिए।
अनि मैले आफुले पढ्ने समयका ती दिनहरु पनि सम्झिएँ। कुनै कुनै अपवाद बाहेक हाम्रा कापी पनि त त्यसरी नै चेक भएका थिए। कापी चेक किन गरिन्छ? लेखेको सहि छ/छैन भनेर होइन र? एउटा बच्चाले आफ्नै बाबाआमा भन्दा पनि धेरै बिश्वास एउटा शिक्षकलाई गर्छ। डर पनि उसैको मान्छ तर शिक्षकको यस्तो लापरबाहीले बच्चाले के सिक्छ? सहि र गलतको अन्तर कसरी छुट्टाउछ? "पछि आफै पढेर सिकिहाल्छ नि" भन्नुहुन्छ होला तर बच्चाबेलाको समय र त्यसबेला उसले सिकेका कुराहरु उसको अवचेतन मनमा यसरी बसेका हुन्छन् कि ती कुराहरुले नचाहदा नचाहदै पनि उसको जीवनमा धेरै प्रभाव पारिरहेका हुन्छन्।
शिक्षकले पनि सबैकुरा जानेकै छ भन्ने हुँदैन तर एउटा शिक्षक भइसकेपछी सिक्न र सिकाउन दुबैको लागि तत्पर रहनुपर्छ। भनिन्छ "तिमी विद्यार्थी हुँदा जति पढ्छौ त्यो भन्दा बढी शिक्षक बन्ने क्रममा पढ्नुपर्ने हुन्छ।" सिक्न सजिलो छैन तर सिकाउन अझ कठिन छ। के शिक्षकहरु सिकाउन मात्रै होइन अनि नजानेको कुरा बच्चालाई गाली गरेर टार्ने पनि होइन, बरु आफुले अध्यन गरेर सिकाउन तयार छन् त?
सैद्धान्तिक भन्दा ब्यबहारिक ज्ञानकाे महत्त्व भन्दै बादबिबाद प्रतियोगिता प्राय: हरेक विद्यालयले बर्षेनी राखेकै हुन्छ। अनि त्यसले यतिका बर्षमा भित्राएको परिणाम ?
प्रत्येक बिषयमा २५ % प्राक्टिकल नम्बर भनेर छुट्टाइएको छ। तर त्यो प्राक्टिकललाई कसरी हेरिएको छ त?
१. पुस्तकमा भएको फोटो काटेर कापीमा चप्काएर लेराउ
२. यो लेखाएको कुरा छुट्टै कापी अथवा अनेक रङ्गिबिरङ्गी पानामा सारेर आउ
यस्तै यस्तै....
विद्यालयमा कम्प्युटर र बिज्ञानका प्रयोगशालाहरु पनि छन् । तर ती प्रयोगशालाबाट बच्चाहरुले के के कुरा सिकिरहेका छन् त? बिज्ञान प्रयोगशालाबाट कस्ता कस्ता सामग्रीहरुको प्रयोग कसरी देखाइएको छ त? कि विद्यालय प्रचारको लागि "प्रयोगशालाको सुबिधा पनि छ" भनेर देखाउनकै निम्ति मात्र प्रयोगशालाहरु बनिरहेछन् ? विद्यार्थीले सोधेका तार्किक प्रश्नहरुको ( पुस्तकमा नभएका तर जीवन उपयोगि प्रश्नको) जवाफ कसरी दिइन्छ? "कि अझै पनि पहिले पढाईलाई फोकस गर, बाहिर बाहिर ध्यान नभट्काउ" भन्दै प्रश्नकै बेवास्ता गरिन्छ?
कतिपय विद्यार्थीहरु स्कुले जीवनमा टपर हुन्छन् तर +२,ब्याच्लर पढ्दा भने उनीहरुको पढाई खस्किदै गइरहेको हुन्छ। किन? "स्कुलमा थोरै पढ्नुपर्थ्यो तर त्यतिबेला धेरै पढ्नुपर्छ। अनि पहिले जसरी विद्यार्थीले मिहिनेत नगरेर पनि त्यसो हुन्छ। " हुँदैन भन्दिन। त्यो पनि हुन सक्छ। तर बिशेष कारण भनेको बच्चालाई स्कुलमा कसरी पढाइयो भन्ने कुराले फरक परिरहेको हुन्छ।
आजकल प्राय: स्कुलमा प्रश्न कलेक्सन सेटलाई (ओल्ड इज गोल्ड) फोकस गरेर पढाइएको हुन्छ। त्यो भन्दा बाहिरी किताबकै प्रश्न गर्दा पनि "पहिले परीक्षालाई प्राथमिकतामा राख । तिमीबाट धेरै आशा छ " भन्ने किसिमले विद्यालयको नाम राख्नकै निम्ति परीक्षामा आधारित रहेर पढ्न लगाइन्छ तर त्यो पढाइ त्यही परीक्षाको पानामा मात्रै सिमित हुन्छ । उच्च शिक्षाको लागि त केही अपुग नै हुने गर्छ।
पढ्नु भनेको पढिरहनु र परीक्षामा राम्रो अँक ल्याउनु मात्रै पढाइ होइन। पढिसकेपछी त्यसले आफ्नो र अरुको जीवनमा के प्रभाव पार्न सकिन्छ त्यो नै पढाई हो।
पढाइ नसकिदै काम गर्न खोज्न जाँदा पढाइ सकेको सर्टिफिकेट मागिदिन्छन् । पढ्ने बेलासम्म पढाइमात्रै भनेर पढिरह्यो भने पनि कतै जागिरको लागि जाँदा सुरुमै एक्स्पेरियन्सको कुरा खोज्छन् । तर आफुसङ्ग केबल शुन्य मात्रै हुन्छ।
सरकारी जागीर कै कुरा गरिरहने हो भने पनि उहीँ पुरानै तरिकाले बाँधिएका नीति नियम र त्यसै किसिमका रिक्त पदहरु हुन्छन्। केही थपिएका कुराहरु पढाउन त पढाइन्छ तर कार्यन्व्यन गर्नुपर्दा उहीँ पुरानै नीति नियम नै लागू हुन्छ।
सीप कता छ? नया पुस्ता नयाँ सोच कहाँ छ?
आशा गरिएको परिवर्तन कहाँ छ?
देशमा युवाहरु बिदेशिने क्रम निरन्तर रुपमा चलिरहेको छ। "पढ्नै गएपनी पढाइ सकेर फर्किनु नि ! युवा नै त देशको लागि आशाको श्रोत हुन् ।" भनाई पनि यथावत नै छ।
मेरो एकजना दाजु कुनै निश्चित विषय पढ्न भनेर बिदेश जानुभएको थियो। पढेर सकेपछी देश मै फर्केर केही गर्ने सोच लिएर फर्किनुभयो। तर उहाँको न सीप हेरियो न त त्यो संकायलाई कुनै प्राथमिकतामा नै राखियो। केही नयाँ गर्न खोज्दा सुरुमै राजनीतिले रोकिदियो।
धन भन्दा विद्या ठूलो भनेर जति भाषण गर्दै हिडेपनी बाँच्नको लागि धन आवश्यक नै हुन्छ। पढ्दा लागेको ऋण समेत तिर्न धौधौ भएपछी एक युवा बिदेसिन्छ। पैसा सबैथोक त होइन तर जीवन जीउन आवश्यक हुने प्राय चिजहरु पैसा बिना सम्भब छैन। तसर्थ अँक र प्रमाणपत्र भन्दा पनि पढाई र सिकाई महत्त्वपूर्ण कुरा हो। अहिले देशको बिग्रदो अर्थतन्त्रलाई उन्नतिको बाटोमा डोहोराउन पनि सीप र सृजनाको आवश्यकता हुन्छ। यद्यपि यस आवश्यकताको परिपुर्ति गर्नको निम्ति विद्यालयमा पढाउने तरिका र पढिसकेपछी उनिहरुको लागि अपनाउनुपर्ने बिधिलाई अझ प्राथमिकताको बिषयमा राख्नुपर्छ। कसले कति पढ्यो? भन्दा पनि के के सिक्यो? र त्यसको सदुपयोग कहाँ कसरी गर्यो ? भन्ने कुरामा ध्यानाकर्षण हुनु जरुरी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology