Logo

२०८३, श्रावण २७गते


images
images

विचार

ज्ञानको सत्ता, संरचनात्मक अहंकार र शिक्षाको संकट

ज्ञानको सत्ता, संरचनात्मक अहंकार र शिक्षाको संकट

images
  • ज्ञानको सत्ता, संरचनात्मक अहंकार र शिक्षाको संकट
    images
    images

    नेपाली समाजमा शिक्षकलाई केवल पेशाकर्मीका रूपमा मात्र हेरिँदैन । उनीहरूलाई मार्गदर्शक, अनुशासनको प्रतीक र ज्ञानको स्रोतका रूपमा सम्मान गरिन्छ । शिक्षकलाई आदरार्थीे रुपमा ‘गुरु’ शव्दले सम्बोधन गर्ने गरिन्छ । गुरु शब्दसँग जोडिएको यही सांस्कृतिक आदर हाम्रो समाजको सुन्दर पक्ष पनि हो । तर समस्या तब सुरु हुन्छ, जब यही सम्मान कक्षाकोठामा प्रश्नलाई रोक्ने, विद्यार्थीलाई मौन बनाउने अनि शिक्षकलाई आलोचनाभन्दा माथि राख्ने संरचनामा बदलिन्छ । ज्ञान यदि संवादको माध्यम हुनुपर्ने ठाउँमा अधिकारको औजार बन्छ भने शिक्षा स्वतन्त्रताको बाटो होइन, आज्ञाकारिताको अभ्यास बन्छ ।

    images
    images
    images

    हाम्रो धेरै कक्षाकोठामा अझै पनि शिक्षक बोल्ने र विद्यार्थी सुन्ने परम्परा बलियो छ । विद्यार्थीले प्रश्न गर्दा उसलाई जिज्ञासु मान्नेभन्दा पनि “धेरै बोल्ने” वा “अनुशासन नमान्ने” भनेर हेरिने प्रवृत्ति छ । चुपचाप बस्ने विद्यार्थीलाई असल विद्यार्थी मानिन्छ । तर मौनता सधैं सिकाइको प्रमाण होइन । बरु त्यस्तो मौनता कहिलेकाहीँ डरको परिणाम हुन्छ, अस्वीकृत हुने  हुने डर, र शिक्षकको अगाडि आफू सानो देखिने मनोवैज्ञानिक दबाब ।

    images
    images
    images

    जहाँ प्रश्न गर्ने वातावरण हुँदैन, त्यहाँ ज्ञानको विकास हुँदैन; त्यहाँ केवल सूचना सर्छ । तर यसलाई शिक्षकको व्यक्तिगत घमण्ड भनेर मात्रै बुझ्नु पनि सही हुँदैन । शिक्षक पनि यही कमजोर संरचनाभित्र काम गरिरहेको व्यक्ति हो । धेरै शिक्षकले न्यून तलब, अस्थिर सेवा, स्रोतको अभाव, ठूलो विद्यार्थी संख्या, पुरानो पाठ्यक्रम, प्रशासनिक बोझ र राजनीतिक हस्तक्षेपबीच काम गरिरहेका छन् । यस्तो अवस्थामा शिक्षकमा देखिने कठोरता कहिलेकाहीँ अहंकारभन्दा बढी असुरक्षाको प्रतिक्रिया हुन सक्छ । जब मानिस आफैं असुरक्षित हुन्छ, उसले संवादभन्दा नियन्त्रणलाई सुरक्षित ठान्छ ।

    images
    images
    images

    यहीँबाट शिक्षकको संरचनात्मक अहंकार बुझ्न सकिन्छ । यो केवल “म जान्दछु, विद्यार्थी जान्दैन” भन्ने मानसिकता मात्र होइन । यो त्यस्तो प्रणालीको परिणाम हो, जसले शिक्षकलाई लगातार दबाबमा राख्छ तर कक्षाकोठाभित्र उसलाई सानो सत्ता दिन्छ । बाहिरबाट अपमानित शिक्षकले कहिलेकाहीँ कक्षाकोठाभित्र आफ्नो अधिकार बढी देखाउन थाल्छ । त्यसैले शिक्षकको अहंकारलाई मात्र नैतिक कमजोरी भनेर होइन, उसको श्रम, असुरक्षा र संस्थागत अपमानसँग जोडेर बुझ्नुपर्छ । यसको अर्थ शिक्षक आलोचनाबाट मुक्त हुन्छ भन्ने कदापि होइन । बरु शिक्षकको आलोचना अझ गम्भीर हुनुपर्छ ।

    अनुभवको नाममा पुरानै नोट, पुरानै उदाहरण, पुरानै शैली र पुरानै सोच दोहो¥याइरहनु शिक्षण होइन । लामो समय पढाउनु मात्र अनुभव होइन; समयअनुसार आफूलाई बदल्न सक्नु वास्तविक अनुभव हो । विद्यार्थी, समाज, प्रविधि र ज्ञान बदलिँदै जाँदा शिक्षक पनि बदलिन तयार हुनुपर्छ । परिवर्तनसँग डराउने अनुभव अन्ततः ज्ञान होइन, जडता बन्छ ।

    शिक्षकले “मलाई थाहा छैन, हामी सँगै खोजौँ” भन्न सक्नु शिक्षाको सबैभन्दा इमानदार क्षण हुनुपर्ने हो । तर हाम्रो समाजमा शिक्षकलाई सधैं पूर्ण देखिनुपर्ने दबाब छ । शिक्षकले नजानेको स्वीकार्दा उसको सम्मान घट्छ भन्ने सोच अझै बलियो छ ।

    शिक्षकले “मलाई थाहा छैन, हामी सँगै खोजौँ” भन्न सक्नु शिक्षाको सबैभन्दा इमानदार क्षण हुनुपर्ने हो । तर हाम्रो समाजमा शिक्षकलाई सधैं पूर्ण देखिनुपर्ने दबाब छ । शिक्षकले नजानेको स्वीकार्दा उसको सम्मान घट्छ भन्ने सोच अझै बलियो छ । यही कारण धेरै शिक्षकहरू उत्तर नआए पनि उत्तर दिनुपर्ने अभिनय गर्छन् । यो अभिनयले विद्यार्थीलाई गलत कुरा मात्र सिकाउँदैन, सिक्ने प्रक्रियालाई पनि कमजोर बनाउँछ ।

    साँचो शिक्षक त्यो हो, जसले आफू पनि सिक्दैछु भन्ने विनम्रता राख्छ । हाम्रो शिक्षा संकटको अर्को पाटो पाठ्यक्रममा छ । विद्यालयमा पढाइने ज्ञान सधैं तटस्थ हुँदैन । कुन कुरा महत्वपूर्ण मानिन्छ, कुन भाषा मानक मानिन्छ, कुन इतिहास पढाइन्छ, कुन श्रमलाई सम्मान दिइन्छ र कुन अनुभवलाई बेवास्ता गरिन्छ, यी सबै कुरा समाजको शक्ति सम्बन्धसँग जोडिएका छन् । किसानको ज्ञान, मजदुरको अनुभव, स्थानीय भाषा, समुदायका समस्या, वातावरणीय संकट, श्रमको सम्मान र नागरिक चेतना कक्षाकोठामा आज कमजोर रूपमा उपस्थित छन् । विद्यार्थीले किताब पढ्छ, तर कहिलेकाहीँ आफ्नै समाज बुझ्न सक्दैन ।

    परीक्षा प्रणालीले यो समस्यालाई अझ जटिल बनाएको छ । हाम्रो धेरै मूल्यांकन पद्धतिले अझै पनि सोचेर उत्तर बनाउनेलाई होइन सम्झेर लेख्नेलाई बढी पुरस्कृत गर्छ । शिक्षकलाई पनि अन्तिममा विद्यार्थीले परीक्षामा लेख्न सक्ने बन्नुपर्छ भन्ने मनोबैज्ञानिक दवाव छ । त्यसैले ऊ पनि पाठ्यक्रम सक्ने, सम्भावित प्रश्न बताउने र उत्तर लेखाउने दबाबमा फस्छ । जब शिक्षा अंक र प्रमाणपत्रमा सीमित हुन्छ, तब जिज्ञासा अतिरिक्त बोझ जस्तो देखिन थाल्छ । सुगा रटाइलाई पुरस्कृत गर्ने प्रणालीमा सिर्जनशीलता केवल भाषणको विषय बन्न पुग्छ । 

    आजको डिजिटल संस्कृतिले विद्यार्थीहरूको ध्यान क्षमता, गहिरियर अध्यन गर्ने बानी र धैर्यतालाई कमजोर बनाइरहेको छ । छोटा भिडियो, तुरुन्त उत्तर, सतही सूचना र निरन्तर मनोरञ्जनले अध्ययनलाई मेहनतको अभ्यासभन्दा छिटो उपभोगको वस्तु बनाउँदैछ । धेरै विद्यार्थीलाई लामो पाठ पढ्न गाह्रो लाग्छ, कठिन प्रश्नसँग जुध्न धैर्यता हुँदैन, र सजिलो उत्तर खोज्ने बानी बढिरहेको छ । सूचना सजिलै पाइन्छ, तर ज्ञान सजिलै बन्दैन । ज्ञानका लागि धैर्य, अभ्यास र आत्मअनुशासन आवश्यक हुन्छ ।

    अब शिक्षण विधि पनि बदलिनुपर्छ । शिक्षकले एक्लै बोल्ने र विद्यार्थीले चुपचाप सुन्ने पद्धतिले आजको शिक्षण सिकाइको आवश्यकता पूरा गर्दैन । सहकार्यमा आधारित शिक्षण विधि, समूहगत सिकाइ, प्रस्तुति, परियोजना कार्य, समस्या समाधान, समुदाय अध्ययन र साथीबाट सिक्ने अभ्यासलाई बलियो बनाइनुपर्छ ।

    अभिभावकको भूमिका पनि यसमा कम छैन । धेरै अभिभावकले विद्यालयबाट सबैभन्दा पहिले अंक खोज्छन् । बालबालिकाले प्रश्न गरोस्, बहस गरोस्, समाज बुझोस् भन्नेभन्दा पनि ऊ परीक्षामा अगाडि आओस् भन्ने दबाब बढी हुन्छ । घरमा प्रश्न गर्ने बच्चालाई ‘धेरै नबोल’ भनिन्छ, तर पछि त्यही बच्चाबाट आत्मविश्वास र नेतृत्वको अपेक्षा गरिन्छ । बच्चालाई सधैं आदेश मान्न सिकाएर पछि स्वतन्त्र सोच खोज्नु आफैंमा विरोधाभास हो ।
    शिक्षामा विद्यालय व्यवस्थापन र स्थानीय सरकारको भूमिका पनि गम्भीर छ । शिक्षा सुधारलाई भवन निर्माण, पोशाक, औपचारिक कार्यक्रम र नतिजाको प्रतिशतमा मात्र सीमित गरेर हेर्ने परम्परा छ । राम्रो विद्यालय भनेको राम्रो भवन मात्र होइन; राम्रो विद्यालय त्यो हो जहाँ शिक्षकलाई तयारी समय हुन्छ, विद्यार्थीलाई बोल्ने अवसर हुन्छ, पुस्तकालय प्रयोग हुन्छ, पाठ्य सामग्री अद्यावधिक हुन्छ, र सिकाइ जीवनसँग जोडिन्छ । विद्यालय व्यवस्थापनले कक्षाकोठाभित्र के भइरहेको छ भन्ने प्रश्न गर्नैपर्छ ।

    अब शिक्षण विधि पनि बदलिनुपर्छ । शिक्षकले एक्लै बोल्ने र विद्यार्थीले चुपचाप सुन्ने पद्धतिले आजको शिक्षण सिकाइको आवश्यकता पूरा गर्दैन । सहकार्यमा आधारित शिक्षण विधि, समूहगत सिकाइ, प्रस्तुति, परियोजना कार्य, समस्या समाधान, समुदाय अध्ययन र साथीबाट सिक्ने अभ्यासलाई बलियो बनाइनुपर्छ । यस्ता विधिले विद्यार्थीलाई परीक्षार्थी होइन, सोच्ने र काम गर्न सक्ने सक्षम व्यक्ति बनाउँछ । कक्षा शिक्षकको भाषणस्थल होइन, सामूहिक सिकाइको प्रयोगशाला बनाइनुपर्छ ।

    आजको शिक्षा जलवायु अनुकुलन हुनुपर्छ । वातावरणिय संकट, पानीको अभाव, फोहोर व्यवस्थापन, हरित सीप, स्थानीय स्रोतको संरक्षण र जलवायु परिवर्तन विद्यार्थीको जीवनसँग प्रत्यक्ष जोडिएका विषय हुन् । यी कुरा किताबमा मात्र राखेर पुग्दैन । विद्यालयमै वृक्षरोपण, फोहोर वर्गीकरण, पानी बचत, स्थानीय वातावरणको अध्ययन र समुदायसँग जोडिएका परियोजना सञ्चालन गर्न सकिन्छ । भविष्यको नागरिक तयार पार्ने शिक्षा भविष्यको पृथ्वीप्रति जिम्मेवार हुनैपर्छ ।

    शिक्षामा डिजिटल रूपान्तरण पनि आवश्यक छ, तर यसो भन्दैगर्दा विद्यालयमा वा घरमा कम्प्युटर राख्नु वा मोबाइल प्रयोग गर्नु होइन । डिजिटल सामग्री, ई–पुस्तकालय, अडियो–भिडियो स्रोत, स्थानीय भाषाका सामग्री, अनलाइन अभ्यास र प्रविधिको जिम्मेवार प्रयोग यस्तो रुपान्तरणका माध्यम हुन सक्छन् । प्रविधिले शिक्षकलाई हटाउने होइन, उसको शिक्षणलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्छ । डिजिटल शिक्षा तब अर्थपूर्ण हुन्छ, जब त्यसले विद्यार्थीलाई सतही सूचना होइन, गहिरो सिकाइतर्फ लैजान्छ ।

    गुणस्तरिय शिक्षण सिकाई कार्यका लागि शिक्षकलाई तयारी समय दिनु अत्यन्तै आवश्यक छ । शिक्षकले दिनभर कक्षा लिएर, प्रशासनिक काम गरेर, घर फर्किएपछि मात्र पाठ योजना बनाउनुपर्ने अवस्था राम्रो होइन । विद्यालयमै पाठ तयारी, सहकर्मी छलफल, विद्यार्थीको अवस्था विश्लेषण, नयाँ सामग्री निर्माण र आत्मअध्ययनका लागि समय उपलब्ध हुनुपर्छ । तर जीवन सन्तुलनलाई बेवास्ता गरेर राम्रो शिक्षा खोज्नु पनि शिक्षकको काम होइन । थकित शिक्षकले लामो समयसम्म उत्साहित विद्यार्थी बनाउन सक्दैन ।

    शिक्षामा आमुल परिवर्तन त्यति सहज छैन । तर असम्भव पनि होइन । त्यसको लागि शिक्षकले आफ्नो एकल अधिकारको केही भाग छोड्नुपर्नेछ । विद्यार्थीले सजिलो उत्तरको बानी त्याग्नुपर्नेछ । अभिभावकले अंकको मोह घटाउनुपर्नेछ । विद्यालय व्यवस्थापनले देखावटी कामभन्दा वास्तविक सिकाइमा लगानी गर्नुपर्नेछ । राज्यले शिक्षा सुधारलाई भाषण र बजेटमा मात्र होइन, नीति र कार्यान्वयनमा लैजानुपर्नेछ । 

    हाम्रो शिक्षा बिग्रिएको छ भन्न सजिलो छ । तर अझ कठिन प्रश्न यो हो, यसलाई बिगार्ने प्रक्रियामा हामी आफैं कहाँ उभिएका छौँ ? हामी हरेक जिम्मेवार पक्षले आफुलाई प्रश्न गर्नुपर्ने समय आएको छ । अब शिक्षकले आफैसँग सोध्नुपर्छ, म विद्यार्थीलाई सिकाइरहेको छु कि आफ्नो सत्ता जोगाइरहेको छु ? विद्यार्थीले पनि सोच्नुपर्छ, म ज्ञान खोजिरहेको छु कि सजिलो उत्तर ? हरेक अभिभावकले पनि सोचुन्, म बालबालिकालाई सोच्न दिँदैछु कि केवल दौडाउँदैछु ? विद्यालयले म सिकाइको केन्द्र हुँ कि नतिजा उत्पादन गर्ने कारखाना भन्ने मुल्यांकन गरोस् ? राज्यपनि स्व प्रश्नबाट भाग्नु हुँदैन, उसले आफुलाई प्रश्न गरोस्, म शिक्षामा लगानी गर्दैछु कि नारा बेच्दैछ ?

    शिक्षाको संकट केवल कक्षाकोठाको समस्या होइन । यो हाम्रो समाज, अर्थतन्त्र, राजनीति, परिवार र मानसिकताको संयुक्त परिणाम हो । त्यसैले समाधान पनि सामूहिक हुनुपर्छ । तर समाधानको पहिलो कदम कुनै ठूलो नारा होइन; आफ्नो भूमिकालाई इमानदारीपूर्वक स्वीकार्नु । जबसम्म हामी सबैले आफूलाई यो संकट भन्दा बाहिरको निरीक्षक होइन, त्यस भित्रकै पात्र स्वीकार्न सक्दैनौँ, तबसम्म शिक्षा सुधारको बहस कागजमा बलियो र कक्षाकोठामा कमजोर नै रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विचार
  • # शिक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।