बुटवल - लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यसमेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएकी हुन् ।
आफू सांसद बनेको पार्टी जनता समाजवादी पार्टी (जसपा) को तपाईंको नेतृत्वको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएकोले राजीनामा दिएको राजिनामा पत्रमा उल्लेख छ । तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगबिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु,' उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई मन्त्री बनाएका थिए ।
रायमाझीको राजिनामा पछि पोखरेल नेतृत्वको सरकार दबाबमा परेको छ । ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सदस्य छन् । रायमाझी सहित जसपाका ४ सांसदको समर्थनमा ४२ सांसद जुटाएर मुख्यमन्त्री पोखरेलले बहुमत पुर्याएका थिए । अब उनको समर्थनमा ४१ सांसद रहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology