नाटकिय मरण - कविता
भन्न त भन्थी उस्ले
तिमी नै मेरो जीवन हो
तिमी नै मेरो धड्कन हौ ।
तिमी नै मेरो संसार हो
तिमी नै मेरो सहारा हौ ।
मुखमा राम जपेर
छुरा धस्ने जमात हो यो
खै मलाई त त्यस्तो लाग्दैन
किन किन पत्याउनै सक्दिन।
यदाकदा
भन्न त भन्थे अरुले पनि
तपाईं दयालु
तपाईं मयालु
तपाईं कृपालु ।
खै
कस्को कुरो पत्याउनु
को माथी बिश्वास गर्नु ?
देखावटी संसारमा
अत्ति भयो झुठो आश्वासन
अत्ति भयो झुठो बन्धन
आज जान्न मन छ मलाई
परिक्षण गर्न मन छ उनिहरुलाई
अनि
५ मिनेट साश रोकेर मार्नु छ आफुले आफैलाई।
जिउँदैमा मार्ने जमात छन् धेरै
साच्चिकै मार्नेहरुको बिचमा
ख्याल ख्याल मार्नु छ आफुलाई
मलामिको लर्को लिएर
सिंदुरको धर्को संगै
चित्ता माथी सुत्दै
कान खुल्लै राखेर
जिब्रो टोक्दै
आँखा चिम्लेर सुन्नु छ उनिहरुलाई
को-को रुँदा रहेछन
को-को हाँस्दा रहेछन
अनि
को-को नाँच्दा रहेछन् ।
जिउँदो बसेर धेरै सुनियो खोक्रो तारिफ
धेरै देखियो फोस्रो माया
मर्नु छ एकदिनको लागि
एकछिनको लागि
को आफ्ना, को पराया
छुट्याउनु छ जिउनका लागि ।
नाटकिय मरण संगै आउने
श्रद्धाञ्जलीको ओईरो भित्र
पहिल्याउनु छ
को आफ्ना को पराया
को आफ्ना को पराया ।।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology