बुटवल। रुपन्देहीको तिलोत्तमामा निजि लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण हुने भएको छ। तिलोत्तमा वडा नम्बर १७ पुर्ब दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो। यो निजि लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला हुनेछ ।
एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरेका छन्। ९ बर्षदेखि अस्ट्रेलियामा सूचना प्रबिधि क्षेत्रको ब्यबसाय गर्दै आएका बिनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो बर्ष ५ हजार दर्शक क्षमताको हुने र हरेक बर्ष ५ हजार क्षमता थप्दै ४ बर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ । यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्र सहितको हुने एक्स्ट्राटेक ओभल प्रालिका प्रबन्द निर्देशक बिनोद कुंवरले बताए। आफु क्रिकेटको पारखी भएकाले यो खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको बताए।
चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालीम केन्द्र संचालनका लागि पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताइन्। एक बर्षमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्माउने काम भैसकेको बिनोद कुंवरले बताए। रंगशाला चार वर्षमा पूरा हुने उनले बताए ।
सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रुपन्देही जिल्ला क्रिकेटको उर्बरभूमि भएको र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनेपछि खेलाडी उत्पादन र प्रतियोगिता आयोजना मात्र नभई खेल पर्यटनमार्फत समग्र नगरको विकासमा योगदान पुग्ने बताए । उनले निजी क्षेत्रबाट लगानी भएपनि यो नगरकै गौरवको आयोजना हुने बताए। नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology