भरत पाण्डेय, काठमाडाैं । जनताको भान्छालाई सुरक्षित बनाउनका लागि सरकारले ग्याँसको कम्पोजिट सिलिण्डरमा भारी भन्सार छुट दिएको छ । अहिले चल्तीमा रहेको फलामको सिलिण्डर पड्किएर धेरै दुर्घटना भएकोले सरकारले कम्पोजिट सिलिण्डरको प्रयोग बढाउन उक्त सिलिण्डरमा लाग्ने भन्सारमा ८३ प्रतिशत भन्सार छुट दिने प्रावधान ल्याएको हो ।
सरकारको यो छुटपछि अब कम्पोजिट सिलिण्डरमा ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क गरी १० प्रतिशत मात्रै कर लाग्ने छ । कम्पोजिट सिलिण्डरको खरिद मूल्य नै महँगो भएकाले अहिलेसम्म नेपालमा यसको प्रयोग अत्यन्तै कम छ । उक्त मूल्य घटाएर उपभोक्तालाई प्रयोग योग्य बनाउनका लागि भन्सार छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
कम्पोजिट सिलिण्डरसिलिण्डरहरू फाइबर र प्लास्टिकको संयोजनबाट बनेको कारण आगो प्रतिरोधी हुन्छन् । त्यसैले हाल प्रयोगमा रहेको फलामको सिलिण्डरको तुलनामा यस्तो सिलिण्डर आगोमा पर्दा समेत विस्फोट नहुने हुन्छन्। त्यस्तै कम्पोजिट सिलिण्डरहरुमा ग्याँस चुहावट पत्ता लगाउने, बन्द–अफ भल्भ र सुरक्षा सुरक्षा जस्ता केही अन्य सुरक्षा सुविधाहरू हुन्छन् ।
अहिलेसम्म नेपालमा १४.२ केजीको सिलिण्डरको मूल्य ९ हजार २५५ रुपैयाँ र अर्को ५ किलोको सिलिण्डरको मूल्य ६ हजार ९५५ रुपैयाँ पर्ने गरेको थियो। भन्सार छुट दिएपछि यी सिलिण्डर २५ प्रतिशतसम्म कम भएर १४ दशमलव २ केजीको ६ हजार ९ सय ४१ रुपैयाँ र ५ किलोको ५ हजार २ सय १६ रुपैयाँसम्म पर्नसक्छ ।
जनतालाई उक्त क्षतीबाट जोगाउन सरकारले सुरक्षित सिलिण्डरको प्रयोग बढाउन खोजेपनि केही व्यवसायीले भने प्रधानमन्त्री निकट व्यापारी पोस्ने गरी ग्याँस सिलिण्डरको भन्सारमा छुट दिएको आरोप लगाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology