बुटवल । शहिद स्मृति प्रतिष्ठान नेपालको आयोजना र बुटवल उप- महानगरपालिका बुटवलको सहयोगमा शहिद तथा बेपत्ता परिवार र द्वन्दपीडित-घाइते परिवारको लागि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम शुरु भएको छ ।
बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले द्वन्द पीडितलाई व्यवस्थित गर्नको लागि बुटवल उपमहानगरपालिकाले सधै सहयोग गर्ने र आवश्यक पहल गर्ने बताए । सहिद स्मृति प्रतिष्ठानलाई शहिद परिवारको लागि काम गर्न अगाडि बढ्न सुझाव दिदैं प्रमुख पाण्डेले बुटवल उप - महानगरपालिकाले सहयोग गर्न सक्ने काम गर्ने र नसक्नेलाई प्रदेश र संघमा पुर्याउन पहल गर्ने बताएका हुन् ।
सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको अध्यक्ष हरि घिमिरेले द्वन्दको बेला द्वन्द व्यवस्थापन गर्दाको स्मरण गर्दै प्रतिष्ठानले गर्न सक्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । शहिद जितेन्द्रमणि स्मृति प्रतिष्ठान लुम्बिनीका अध्यक्ष तिर बहादुर रोका डार्बिनले शहिदको बलिदानले गर्दा नै शहिद स्मृति प्रतिष्ठान जिवित रहेको बताए । उनले आजिवन खुशी हुन छ भने सामाजिक क्षेत्रमा योगदान पुर्याउन आवश्यक रहेको बताए ।
बुटवल उप - महानगरपालिका ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले तालिम अत्यन्त महत्वपूर्ण रहेको र यसलाई सिलसिलेवार रुपमा प्रयोग गर्नको लागि तालीम अत्यन्तै प्रभावकारी हुने बताए ।
न्यायका लागि द्वन्दपीडित समाज रुपन्देहीका सचीव रिता सेनले बुटवल उप महानगरपालिकामा द्वन्दपीडित परिवार ३५ घर रहेको र लुम्बिनी प्रदेशले द्वन्दपीडितलाई नि- शुल्क स्वास्थ्य विमा गरेको बताइन् । जनयुद्धकि घाईते टिका ओलिले निश्वार्थ रुपमा देशको लागि योगदान गरेकोले एकले अर्कालाई द्वन्दको बेला यतिको ज्यान लियो भनेर आक्षेप लगाउदा निकै दु:ख लाग्ने बताइन् ।
माओवादी केन्द्र बुटवल नगरका इन्चार्ज पुष्प राज ढकालले द्वन्दपीडितलाई व्यवस्थापन गर्दै गयो भने भावनात्मक सम्बन्ध रहने बताएका हुन ।
कार्यक्रमको उद्घाटन सेशनमा शहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीका कार्यक्रम संयोजक मनोज रानाको स्वागत, दामोदर घिमिरेको संचालन थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology