कृष्ण अन्जान ज्ञवाली, गुल्मी। स्थानीय तहको निर्वाचन डेढ वर्ष पूरा हुँदैछ यी दिनहरू रुरुक्षेत्र गाउँपालिका वडा नं १ का वडा सदस्य घनश्याम ज्ञवालीलाई एक छिन फुर्सद छैन। उनी मेसिन हुन र उनी हर बखत स्टार्ट हालतमा रहनुपर्छ। उनी निर्वाचित हुनुभन्दा अघि पनि सामाजिक काममा खटिरहने व्यक्ति भएको स्थानीयले बताए।
रुरुक्षेत्र गाउँपालिका वडा नं १ को वडा सदस्य निर्वाचित हुने बित्तिकै रुरु १ कै भट्कुवामा बिजुलीका पोल व्यवस्थित मात्र गरेनन् बिजुलीका लत्रेका तार टाँगेर बत्ती नबलेका घरमा बिजुली बालिदिने काम गरे । एउटा वडा सदस्य बिजुलीका पोल पोलमा चढेर काम गरेको देख्दा त्यो गाउँका बासिन्दाहरू दंग परे । यो उनको फोटो खिच्नकालागि गरिएको स्टन्ट थिएन, कम्मरमा सेफ्टिबेल्ट बाँधेर उनले एउटा कामदारलेझैँ काम गरे ।
त्यतिमात्र कहाँ हो, रिडीबजारका टोलटोलमा सडक बत्ति हाल्ने काम पनि उनै वडा सदस्य घनश्याम ज्ञवालीले गरे । जोखिमसँग पौँठेजोरी खेल्दै उनले गरेका कामले रुरुक्षेत्र १ का आम जनताको मनमा उनी बस्न सफल भएका छन्।
गएको जेठमा रुरुक्षेत्रको ठाडाखोलाबाट माथिको जँगलमा भयानक आगलागी भयो त्यो आगोको तातो ज्वालामा आगो निभाउन नेतृत्व मात्र गरेनन् उनकै प्रयासमा भयानक आगलागीबाट सिँगो च्यूरेक बस्ति जोगिएको थियो । यतिबेला च्यूरेक पिउने पानीको अभावमा छट्पटिएको छ , पानीको मुल सुकेपछि मान्छेले पिउन, बस्तुभाउलाई बचाउन पानीको बेस्सरी अभाव भएको छ तर वडा सदस्य घनस्याम ज्ञवालीले हिम्मत हारेका छैनन । ट्याँकरमा रिडीबाट पानी ल्याएर च्यूरेकी जनताको घाँटी भिजाउने अभियानमा उनी आफै खटेका छन।
जनताले अप्ठ्यारोमा सहयोग गर्लान भनेर हामीलाई जिताएका हुन जनताले पाएको दुख पिर मर्का मैले देख्न सक्दिनँ र सहयोगका लागि आफै कँसिन्छु वडा सदस्य घनस्याम ज्ञवालीले भने । यतिबेला रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा पुराना सडक पुनर्निर्माण भएका छन ,नयाँ सडकका ट्र्याक खोलिएका छन, पँधेरा पुनर्निर्माण भएका छन, खोला खोल्सामा पुल पुलेसा बनेका छन सबै तिर उनै घनश्याम ज्ञवाली खटन पटनमा छन । यो वर्ष कहिल्यै नभएको रुरुक्षेत्र १ च्यूरेकको लिचि प्रबर्द्धन र लिचिको रोग पहिचान र निराकरण सँगै लिचीमा भिटामिन छर्ने काम पनि उनै घनश्याम ज्ञवालीको नेतृत्वमा भएको छ ।
यिनै घनश्याम ज्ञवाली हुन जसले थोर्गा गाउँमा केबल नेटवर्क भित्राएर सञ्चारका पहुँचलाई सरल बनाएका हुन र यतिबेला इन्टरनेट सेवा पनि गाउँ भरि उनैले बितरण गरेका छन । राजनीति भन्दापनि विकास निर्माण,समाज सेवा मा समर्पित उनले २०७४ साल सम्म नेपाली कांग्रेसमा झुकाव राख्थे तर २०७४ सालपछि उनी स्वतन्त्र थिए। गएको निर्वाचनमा उनलाई एमालेले वडा सदस्यमा टिकट दियो। रुरुक्षेत्र १ बाट ९ सय ६५ भोट ल्याएर वडा सदस्यमा विजय भएपछि यतिबेला राजनीति भन्दा पनि वडाको विकासमा जनता सँग एकाकार हुँदै लोकप्रिय जनप्रतिनिधि बन्न सफल भएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology