झापा। पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।
पाँचथरमा ९३, ताप्लेजुङमा ८० र संखुवासभामा १७ परिवार विस्थापित भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक एसपी ऋषिराम कडेलले जानकारी दिए। बाढी पहिरोले पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् ।
भोजपुर र इलाममा पनि क्षति भएको छ र बाढी पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँचथर र ताप्लेजुङमा तीनरतीन जना तथा संखुवासभामा दुई र भोजपुरमा एक जनाको ज्यान गएको एसपी ऋषिराम कडेलले जानकारी दिए। बाढी पहिरोमा परेर घाइते भएका सात जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बाढी पहिरोमा परेर बेपत्ता भएका २७ जनाको अवस्था भने अझै पत्ता लागेको छैन । बाढी पहिरोमा संखुवासभाका २१, पाँचथर र ताप्लेजुङका तीनरतीन जना बेपत्ता भएका हुन् ।
बाढी पहिरोबाट ४३ वटा घरमा नोक्सानी भएको छ । संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका छ र इलामका तीन वटा घरमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।
यस्तै, १२ वटा पक्की र १८ वटा कच्ची गरी ३० वटा पुलमा पनि क्षति भएको छ । पाँचथरका १५, ताप्लेजुङका नौ, संखुवासभाका छ वटा पुलमा क्षति भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology