काठमाडौं । डिजिटल युगलाई सम्बाेधन गर्नकाे लागि पत्रकारिता पनि डिजिटलाइज्ड हुनु अपरिहार्य जस्तै भएकाे छ । छिटाे छरिताे र प्रविधियुक्त पत्रकारिताकाे लागि प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रेस इन्ष्टिच्यूट डिजिटल पत्रकारिता तालिममार्फत पत्रकारहरुकाे क्षमता अभिवृद्धिमा लागि परेका छन् ।
पत्रकारकाे क्षमता विकासकाे पाटाेलाई मुख्य कामकाे रुपमा लिदै आएकाे नेपाल प्रेस इन्ष्टिच्यूटले प्रेस काउन्सिल नेपालको सहयोगमा आजबाट डिजिटल पत्रकारिता तालिम सुरु गरेकाे छ । डिजिटल पत्रकारिता गर्दै आएका र पत्रकारितामा रुचि भएका ८० जनालाई एकसाता लामो पत्रकारिता तालिम दिन लागिएकाे हाे ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिमकाे उद्घाटन गरे । अनलाइन न्यूज पोर्टल, यूट्युब सञ्चालन, मोबाइल जर्नलिजम (मोजो) पत्रकारिता तथा डिजिटल मिडियाका लागि समाचार लेखन सीपसँगै आचारसंहिताका विषयमा प्रशिक्षण दिइने नेपाल प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले जानकारी दिए ।
नेपालमा मात्र नभई विश्वमा मूलधारका सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारिताको ज्ञान नभए प्रतिस्पर्धामा आउन नै नसक्ने अवस्था आएको उल्लेख गर्दै मुलुकका पत्रकारको आवश्यकतालाई सम्बोधन गर्न काउन्सिल सधै तत्पर रहेको बस्नेतले बताए ।
दूरशिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षणमा मकवानपुर, काभ्रेपचाल्चाेक, उदयपुर, बाँके, कैलाली, रुकुम,साेलुखुम्बु, नवलपरासी, धनुषा, सुनसरी, नुवाकाेटलागयतका जिल्लाका पत्रकार तथा पत्रकारितामा रुची भएका सहभागी छन् । तालिमकाे पहिलो दिन न्यू मिडिया विज्ञ करुण थापाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमकाे सहजिकरण नेपाल प्रेस इन्ष्टिच्यूटका प्रशिक्षक कपिल काफ्लेले गरेका थिए । तालिमकाे लागि १ सय ५० भन्दा बढी निवेदन प्राप्त भएकोमा ८० जना छनौट गरिएकाे प्रशिक्षक काफ्ले बताए । प्रशिक्षण उद्घाटनमा प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहभागीहरुलाई स्वागत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology