देवदह । घरबेटी भन्ने बित्तिकै आम मानिसको मस्तिष्कमा बर्षेपिच्छे घरभाडा वृद्धि गर्ने र सानो-सानो कुरामा किचकिच गरिरहने मान्छेको तस्विर आउने गर्छ। त्यसो त सबै घरबेटी किचकिचे र भाडा मात्रै वृद्धि गर्न खोज्ने हुँदैनन्। कोहि यस्ता घरबेटी पनि हुन्छन, जसले आफ्नो घर बहालमा बस्ने वा सटर भाडामा लिएर व्यवसाय गर्नेलाई आफ्नै परिवारको सदस्य सरह माया गर्छन र आवश्यक पर्दा सहयोग पनि गर्छन। तिनैमध्येका एक हुन् - देवदहका ईश्वर श्रेष्ठ ।
देवदह नगरपालिका वडा नम्बर ६ स्थित सानाकिसान सहकारी लाइनमा घर र व्यवसायिक सटरहरू रहेका उनले व्यवसायमा मन्दी देखिएको तथा बैंकको महँगो व्याज लगायतका विविध समस्याले पिल्सिएका व्यवसायीलाई राहत दिन भन्दै आफ्नो स्वामित्वका सटरमा व्यवसाय गर्ने व्यवसायीहरूका लागि सटर भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्।
सेतोमसीसंग कुरा गर्दै उनले भने, "व्यवसायी साथीहरूले अहिले विविध संकटको सामना गरिरहनु भएको छ। व्यापारमा मन्दी छ, सटर बन्द गरेर विदेशिने अवस्थामा अहिले व्यवसायीहरू छ्न। त्यसैले मैले थोरै भएपनि राहत दिने उद्देश्यले सटर भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छु।" छुट कहिले सम्म कायम रहन्छ भन्ने प्रश्नमा उनले जवसम्म व्यवसाय सामान्य अवस्थामा फर्किन्न तवसम्म छुट दिने बताए।
उनको घर र व्यवसायिक भवनमा गरि १८ वटा सटर रहेका छन्। जहाँ अहिलेपनि नास्ता पसल देखि शैलुन, किराना लगायतका व्यवसाय चलिरहेका छन्। उनकै सटर भाडामा लिएर नास्ता पसल चलाईरहेका स्थानीय कमल गैह्रेले छुटले व्यवसायीलाई राहत मिलेको बताए। "हुन त ठुलो रकम होइन, तर पनि अफ्ठ्यारो अवस्थामा गुज्रिरहेका व्यवसायीलाई यसले ठुलो नैतिक बल प्रदान गरेको छ, हाम्रो समस्या पनि बुझिदिने कोहि छन् भन्ने आभास भएको छ" उनले भने ।
कोरोना महामारी र त्यसयताको चरम आर्थिक संकटसंग संघर्ष गर्दै अगाडि बढिरहेका कुनै पनि उद्योगी वा व्यवसायीहरू यो देशको अर्थतन्त्रका मुटु हुन्। जसले देशमा एकातिर रोजगारी सिर्जना गरेका छन्, भने अर्कोतिर राज्यलाई कर तिरेर देशको ढुकुटी रित्तिनबाट जोगाएका छन्। राष्ट्रिय उद्योगी-व्यवसायीलाई कठिन अवस्थाबाट जोगाएर अर्थतन्त्र जोगाउने तर्फ इश्वर श्रेष्ठ जस्तै सबैको सहयोग अहिलेको आवश्यकता हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology